धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीको प्रर्दशन, प्रहरीद्वारा ७ राउन्ड हवाई फायर

काठमाडौं, मंसिर १६ : धनगढीमा निषेधाज्ञा तोडेर विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका छन् । बिहीबार बिहान पञ्चोदय माविमा कक्षा ८ मा अध्ययनरत चेतना साउँदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट मृत्यु भएपछि विद्यार्थीहरु आन्दोलित भएका थिए ।
बिहीबार बिहानदेखि सुरु भएको प्रदर्शनका कारण धनगढी दिनभर तनावग्रस्त भयो । प्रशानसनले स्थितिलाई नियन्त्रणमा लिन बिहीबार साँझदेखि अर्को सूचना जारी नहुँदासम्मका लागि निषेधाज्ञा जारी गरेको थियो ।
तर, निषेधाज्ञाकै बीच शुक्रबार बिहानदेखि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात राउन्ड हवाई फायर गरेको छ । प्रहरीले हवाई फायर गरेपछि प्रदर्शनरत विद्यार्थीहरु तितरवितर भएका छन् । प्रदर्शनमा सहभागी केही विद्यार्थीलाई प्रहरीले पक्राउ समेत गरेको छ।
विद्यार्थीले घटनाको क्षतिपूर्तिसहित चालकलाई कारबाहीको माग गरिरहेका छन्। यस सम्बन्धमा शुक्रबार जिप्रका कार्यालयमा छलफल जारी छ।











