दिवङ्गत सुरक्षाकर्मी र नागरिकका परिवारलाई राहत उपलब्ध गराइनेछ : गृहमन्त्री खाण

काठमाडाैं, मंसिर १५ : गृहमन्त्री बालकृष्ण खाणले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत भएका सुरक्षाकर्मी र नागरिकका परिवारलाई नेपाल सरकारले राहत उपलब्ध गराउने बताएका छन।
केन्द्रीय सुरक्षा समितिको आज बसेको बैठकमा उनले सम्बन्धित सबैको अपूर्व योगदानले नै निर्वाचन सम्पन्न भएको उल्लेख गर्दै निर्वाचनले संविधानलाई बल पुर्याएको बताएका हुन। अवधिक निर्वाचन लोतकन्त्रको सबल र सुन्दर पक्ष भएको बताउँदै मन्त्री खाणले यस दायित्वलाई नेपाल सरकारले पूरा गरेको अवगत गराए।
यो दायित्व पूरा गर्ने सबैलाई धन्यवाद दिँदै उनले कर्तव्य निर्वाह गर्ने क्रममा दिवङ्गत भएका सुरक्षाकर्मी र नागरिकप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उनीहरूको परिवार भरणपोषणका लागि सरकारले राहत उपलब्ध गराउने जानकारी दिए।
निर्वाचनका क्रममा भएका राम्रा पक्षलाई आगामी दिनमा अवलम्बन गरिँदै जाने र कमी–कमजोरीलाई सुधार्दै लैजाने उल्लेख गर्दै मन्त्री खाणले सीमित स्रोत साधान बाबजुद सुरक्षाकर्मीले अहोरात्र खटिई कर्तव्य पूरा गरेकामा विशेष धन्यवाद दिए। निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले निर्माण गर्ने नयाँ सरकार जनताको इच्छा आकाङ्क्षा पूरा गर्ने काममा अघि बढ्ने उनको विश्वास थियो।











