ग्रेडरकाे ठक्करबाट बालिकाकाे मृत्युपछि उत्पन्न तनाव साम्य नभएपछि प्रशासनद्वारा निषेधाज्ञा जारी

घनगढी, मंसिर १५ : जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी उपमहानगरपालिका–५ पिपल चौतारा क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
बिहीबार विहान साइकल चढेर विद्यालय जाँदै गरेकी १५ वर्षकी चाँदनी साउदलाई सडक सम्याउँदै गरेको ग्रेडरले ठक्कर दिँएपछि उनको घटनास्थलमै मृत्यु भएको थियो। त्यस विषयलाई लिएर उत्पन्न तनाव साम्य नभएपछि प्रशासनले निषेधाज्ञा जारी गरेकाे हाे।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले प्रदर्शनका क्रममा भएको अराजक गतिविधि नियन्त्रण गरी सर्वसाधारण नागरिकको जनधनको सुरक्षा र सरकारी सम्पत्तिको संरक्षण गर्न बिहीबार साँझ ७ बजेदेखि शुक्रबार विहान ७ बजेसम्म निषेधाज्ञाको आदेश जारी गरेको बताएका छन् ।
निषेधाज्ञाको समयमा ५ जना भन्दा बढी भेला हुन, आवतजावत गर्न, भेला, प्रदर्शन, घुमफिर गर्न, सवारी साधन चलाउन नपाइने प्रजिअ थापाले बताएका छन् ।
पूर्वमा धनगढी उपमहानगरपालिका-१ पुरानो फूलबारी बसपार्क (पुष्पलाल चोक), पश्चिममा धनगढी उपमहानगरपालिका-४ रातोपुल, उत्तरमा धनगढी उपमहानगरपालिका–५ सामुदायिक प्रहरी सेवा केन्द्रको भवन दक्षिणमा धनगढी उपमहानगरपालिका-१ र २ स्थित हुलाकी राजमार्गको चारकिल्लाभित्र निषेधाज्ञा लागू हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।











