ग्रेडरको ठक्करबाट बालिकाकाे मृत्यु भएपछि धनगढी तनावग्रस्त
सामान्य घाइते चेतनालाई चालकले ब्याक गरेर मारेको जानकारी प्रत्यक्षदर्शीले बताएपछि स्थानीय र उनी पढ्ने विद्यालयका विद्यार्थी आक्रोशित भएका थिए। उनीहरूले धनगढीमा टायर बालेर दिनभर प्रदर्शन गरे।
धनगढी, मंसिर १५ : ग्रेडरको ठक्करले बालिकाको मृत्यु भएपछि धनगढीमा दिनभर तनाव मच्चिएको छ। आज (बिहीबार) बिहान साइकल चढेर विद्यालय जाँदै गरेकी बालिकाको ग्रेडरको ठक्करबाट मृत्यु भएपछि धनगढी तनावग्रस्त बनेको हो।
साइकलमा स्कुल गइरहेकी चेतना साउदलाई धनगढी उपमहानगरपालिका-५ हसनपुर पिपलचौतारा सडकखण्डमा कालिका कन्सट्रक्सनको ना१क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिएको थियो। धनगढीकै पञ्चोदय माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्यनरत साउदको घटनास्थलमै मृत्यु भएको थियो।
बैतडीको डिलासैनी गाउँपालिका-६ स्थायी ठेगाना भएकी चेतना धनगढी-५ मा मामाघरमा बसेर अध्ययन गर्दै आएकी थिइन्।
सामान्य घाइते चेतनालाई चालकले ब्याक गरेर मारेको जानकारी प्रत्यक्षदर्शीले बताएपछि स्थानीय र उनी पढ्ने विद्यालयका विद्यार्थी आक्रोशित भएका थिए। उनीहरूले धनगढीमा टायर बालेर दिनभर प्रदर्शन गरे।
प्रहरीले नियन्त्रणमा लिएका चालक भरतपुर महानगरपालिका(२८ का २७ वर्षीय बिमल कुमाल र प्रदर्शनकारीले चालक र निर्माण व्यवसायीलाई कारबाही तथा पीडितलाई क्षतिपूर्तिको माग गरेका छन्। उनीहरुले प्रहरीविरुद्ध पनि नाराबाजी गरे। उक्त माग पूरा नगरेसम्म शव उठाउन नदिने अडान लिएपछि अवस्थाझनै तनावग्रस्त बनेको छ।
दोषीलाई कानुनी कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था नभएसम्म शव उठाउन नदिने अडान लिएपछि स्थिति झनै तनावग्रस्त बनेको बताइएको छ।
प्रदर्शनकारीको अवरोधका कारण शव उठाउन नसकिएको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले घटनाको विरोधमा प्रदर्शनमा उत्रिएका तीन जनालाई नियन्त्रणमा लिएको जनाइएको छ। प्रहरीले ग्रेडर चालक भरतपुर महानगरपालिका–२८ का विमल कुमाललाई पनि नियन्त्रणमा लिइएको छ।











