सञ्चारमन्त्री कार्की तेस्रो कार्यकालका लागि संसद प्रवेश

काठमाडौं, मंसिर १५ : सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की प्रतिनिधिसभा सदस्यमा सुनसरी क्षेत्र नं ४ बाट विजयी भएका छन्।
आज बिहान सम्पन्न मतगणनामा मन्त्री कार्कीले ३० हजार चार सय ८३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का जगदीश प्रसाद कुसियैतले ३० हजार तीन सय ७१ मत प्राप्त गर्नु भएको निर्वाचन आयोगले जनाएको छ।
पिता कृष्णमोहन र माता अम्बिकाको कोखबाट २०१३ साल फागुन ११ गते भोजपुरमा जन्मनुभएका नेता कार्की २०२७ सालदेखि निरन्तर कांग्रेसको राजनीतिमा छन्।
विसं २०६३ मा जलस्रोतमन्त्री, २०७० सालमा संविधानसभा सदस्य र २०७४ सालमा अर्थमन्त्रीको जिम्मेवारी निर्वाह गर्नुभएका उनी २०७८ सालमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री र हाल सञ्चार तथा सूचना प्रविधिमन्त्री छन् । यसअघि २०७४ सालमा उनी सुनसरी क्षेत्र नं ४ बाटै प्रतिनिधिसभामा निर्वाचित थिए।
विसं २०५८ देखि हालसम्म कांग्रेसको केन्द्रीय सदस्य रहेका उनी कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको केन्द्रीय अध्यक्षसमेत भइसकेका छन् । उनले राजनीतिक जीवनका क्रममा भोजपुर र विराटनगरमा गरी चार वर्ष जेल जीवन बिताएका थिए ।
उनी सुनसरीको बराह नगरपालिका-१० प्रकाशपुरमा स्थायी बसोबास गर्दै आएका छन्। उनले त्रिभुवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन्।











