Kathmandu Press

‘यसकारण सर्वाेच्च अदालतकाे गेटमा राताे रङ छ्यापें’

आफ्नै पति र परिवारजन मिलेर शारीरिक र मानसिक रूपमा हिंसा गरेको तर अदालत गुहार्दा पनि न्याय नपाएको भन्दै विरोधस्वरूप अदालतको गेटमा रातो रङ फ्याँकेको उनकाे भनाइ छ।

काठमाडौं, मंसिर १४ : मंगलबार सर्वोच्च अदालतको गेटमा एक युवतीले रातो रंगको घोल छ्यापिन् । सेतो पहिरनमा आएकी उनले अदालतको गेटमा रंग छ्यापेपछि ‘मलाई न्याय चाहियो’ भन्दै चिच्याउन थालिन् ।  त्यसलगत्तै प्रहरीहरुले नियन्त्रणमा लिएर उनलाई भ्यानमा राखे । न्यायको माग गर्दै अदालतको गेटमा रंग छ्याप्ने युवती थिइन्, २९ वर्षीया बिनु यादव । 

न्यायका लागि अन्तिम सहारा ठानिएको अदालत पनि ‘मरिसकेको’ अनुभूति भएपछि आफूले त्यसो गरेको उनले बताइन्। आफ्नै पति र परिवारजन मिलेर शारीरिक र मानसिक रूपमा हिंसा गरेको तर अदालत गुहार्दा पनि न्याय नपाएको भन्दै विरोधस्वरूप अदालतको गेटमा रातो रङ फ्याँकेको उनकाे भनाइ छ।

उनले पति र पतिको परिवारजन मिलेर शारीरिक र मानसिक रूपमा हिंसा गरेको भन्दै २०६७ सालमा पति प्रदीप कठायतविरुद्ध रामेछाप जिल्ला अदालतमा उजुरी दिएकी थिइन्। तर मिलेर बस्ने भनेर उजुरी फिर्ता लिन लगाइएको तर यातना दिन नछाडेपछि सम्बन्ध विच्छेदको विषय अघि बढेको उनले बताइन्। तर त्यसबीचमा काका ससुरा पवन कठायतले पनि आफूमाथि जबर्जस्ती करणी गरेकाले फेरि अदालत धाउनुपरेको उनले बताइन्। पीडामाथि पीडा थोपरिएको र अदालतले पनि उपेक्षा गरेको हुँदा आफू विचलित भइसकेको उनले बताइन्। न्याय नपाएसम्म सम्बन्ध विच्छेदको कागजमा हस्ताक्षर नगर्ने उनले बताइन्।

Hardik ivf

उनले काका ससुराविरुद्ध पेस गरेको मुद्दा उच्च अदालत पाटनमा विचारधीन अवस्थामा छ। तर आरोपित भने धरौटीमा छुटिसकेका छन्। बिनुले सडकदेखि सदनसम्म गुहार माग्दा पनि न्याय नपाएको भन्दै आक्रोश व्यक्त गरिन्। ‘मरिसकेको अनुभूति गर्न सेतो पहिरन लगाएकी हुँ र रातो रङको अर्थ रगतम्मे बनाएर अदालतले मार्‍यो भन्ने हो,’ उनले भनिन्, ‘मेराे मतलब अन्तिम सहारा अदालत पनि मरिसकेको अनुभूति भइरहेको छ।’ 

अदालतले सरकारी मुद्दा भन्दै १२/१२ दिनकाे अन्तरालमा तारिख राखेर सारेकोसार्‍यै गरेको उनले आरोप लगाइन्। ‘अदालतले पीडितलाई अझै पीडा थपिदिने काम गरिरहेको छ,’ उनले भनिन्, ‘सरकारी वकिलले भनेका छन्– तपाईंको मुद्दामा पीडकलाई सजाय दिन सक्नेगरी प्रमाण जुटेन, अब हामी केही गर्न सक्दैनौं, मुद्दा लड्ने भए निजी वकिल राख्नुस्।’ सरकारी मुद्दा भएकै कारण अधिवक्ताहरुले चासो नदिएको पीडित बिनुको बुझाइ छ। 

आफू पटकपटक पाटन अदालत पुगेको तर धरौटीमा पीडित छुटेकोबारे जानकारी पाउन नसकिएको उनले बताइन्। ‘पीडितलाई जानकारी नदिई बिनाबहस पीडकलाई अदालतले छाडेको थाहा पाएँ  तर किन छाडियो भन्ने आधिकारिक जानकारी पाउन सकिएको छैन, त्यसैले मंसिर ११ गते अदालत गएको थिएँ,’ उनले भनिन्, ‘अदालत पुग्दा मुद्दाबारे कसैले केही जानकारी दिन मान्नुभएन।’ अदालतले आफूलाई झुक्याइरहेको उनको भनाइ छ। ‘पीडितलाई जानकारी नदिई पीडकलाई छाडिएको छ,’ आक्रोशित मुद्रामा उनले भनिन्। 

सिरहा जन्मथलो भए पनि सोलुखुम्बुमा हुर्किएकी थिइन् बिनु।  पछिल्लो समय काठमाडौं बस्दै आएकी बिनुले २०७५ सालअघि रामेछाप मन्थलीका प्रदीपसँग प्रेम विवाह गरिन्। विवाहपछि पारिवारिक दबाबमा सम्बन्ध विच्छेद, महिला हिंसा, जर्बजस्ती करणीलगायत पीडा उनले भोग्नुपर्‍यो। काका ससुरा पवनले पनि आफूमाथि जर्बजस्ती करणी गरेको उनले बताइन्। त्यही आरोपमा थुनामा परेका काका ससुरा पवन पनि धरौटीमा छुटिसकेका छन्। 

आरोपित पवनलाई जबर्जस्ती करणीको अभियोगमा न्यायाधीश इन्दिरा शर्माको इजलासले पुर्पक्षका लागि २०७९ भदौ २१ गते थुनामा राख्ने आदेश दिएको थियो। आदेशपछि कारागार रामेछाप कारागार चलान  भएका पवन धरौटीमा छुटिसकेका छन्। 

बिनुले काका ससुराविरुद्ध २०७९ वैशाख ७ मा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा भदौमा पवनलाई हिरासतमा राखेर अनुसन्धान गरिएको थियो। जिल्ला अदालत रामेछापले पुर्पक्षका लागि थुनामा पठाएका पवनलाई गत असोज २८ गते धरौटीमा छाडिएको हो। अदालतले पीडितलाई न्याय दिनुको सट्टा झनै पीडित बनाएको उनको आरोप छ। 

२०७६ देखि न्याय पाउन विभिन्न संघसस्था, आयोग, सरोकारसँग घुँडा टेक्दै आएको बिनु बताउँछिन्। ‘सरकारी वकिलको कार्यालयका अधिवक्ता आर्थिक प्रलोभनमा परेर मुद्दा कमजोर बनाउन खोज्छन्,’ उनी भन्छिन्, ‘विचाराधीन मुद्दा किनार नलगाई सधैं तारिखमा सार्ने मात्रै भइरहेको छ।’

उक्त मुद्दामा पैसाको चलखेल भइरहेको आरोप उनको छ। ‘अधिवक्ता बिके, न्याय बिक्यो, अब पीडित मरे पनि हुन्छ,’ उनले भनिन्, ‘अब न्याय मरिसक्यो अब पीडित महिलाले आत्महत्या गरे पनि हुन्छ।’

याे पनि

‘ज्यान मार्ने धम्की आइरहेको छ, तर म न्याय नपाएसम्म लडिरहन्छु’ (भिडियो)

प्रकाशित मिति: १८:२८ बजे, बुधबार, मंसिर १४, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्