Kathmandu Press

मजदुर चढेकाे मिनिट्रक दुर्घटना, दुईको मृत्यु, ६ घाइते

नुवाकोट, पुस ६ : नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको मिनिट्रक दुर्घटना हुँदा दुई....

मजदुर चढेकाे मिनिट्रक दुर्घटना, दुईको मृत्यु, ६ घाइते

नुवाकोट, पुस ६ : नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिको मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।

मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनिट्रकमा सवार सोही कम्पनीका दुई जना मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए।

उनका अनुसार मिनिट्रकमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरु बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको हो।

रसुवाको नौकुण्ड गाउँपालिका–३ का सहचालक १९ वर्षीय सुदीप तमाङ र खोटाङका १९ वर्षीय अविरल तमाङको घटनास्थलमै मृत्यु भएको उनले बताए। घाइते हुनेमा नुवाकोटको ककनी गाउँपालिका–१ का चालक २८ वर्षीय गणेश बलामी, विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोटको भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये दुई जनालाई उपचारका लागि काठमाडौं लगिएको छ भने चार जनाको त्रिशूली अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति: ११:५३ बजे, आइतबार, पुस ६, २०७६