सुनसरी–४ मा मतगणना सुरु भयो मतगणना
मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले एमाले उम्मेदवारको पक्षमा ६०६ मत थपेपछि विवाद सिर्जना भएको थियो।
सनुसरी, मंसिर १३ : विवादपछि शनिबारदेखि स्थगित भएको सुनसरी क्षेत्र नं. ४ को मतगणना सुरु भएको छ। सुनसरी सदरमुकाम इनरुवा–१ स्थित भगवती माविमा चलेको सर्वदलीय बैठक सकिएलगतै मतगणना सुरु भएको हो।
मतगणनाका क्रममा निर्वाचनमा खटिएका कर्मचारीले एमाले उम्मेदवारको पक्षमा ६०६ मत थपेपछि विवाद सिर्जना भएको थियो।
विवादसँगै मतगणना स्थगित भएपछि लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पुनः मतगणना गर्न माग गरेका थिए।
सञ्चार तथा सूचना प्रविधिमन्त्री समेत रहनु भएका उहाँले पुनः मतगणनाको माग गर्नु भए पनि सोमबार साँझ निर्वाचन आयोगले पुनः मतगणना नगरी यथास्थितिमा मतगणना शुरु गर्न निर्देशन दिएको थियो ।
मंगलबार बसेको सर्वदलीय बैठकले धाँधलीरहित, शान्तिपूर्ण, निष्पक्ष र सिसीटिभीको निगरानीमा मतगणना गर्ने निर्णय गरेपछि मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए।
पछिल्लो पटक सार्वजनिक गरिएको मतपरिणामअनुसार कांग्रेसका उम्मेदवार कार्कीले एक सय ६२ मतले अग्रता लिएका छन्।
उनले २३७६६ मत प्राप्त गर्दा एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियतले २३६०४मत प्राप्त गरेका छन्।











