Kathmandu Press

मधेसमा सरकार बनाउन सकस, केन्द्रको समीकरण कुर्दै दलहरू

सरकार बनाउन संख्या नपुगेको र केन्द्रको समीकरण पनि कसरी अगाडि बढ्छ भन्ने प्रष्ट भइनसकेकाले मधेस प्रदेशमा सरकार कसको र कसरी बन्छ भन्ने अन्योल देखिएको हो।
मधेसमा सरकार बनाउन सकस, केन्द्रको समीकरण कुर्दै दलहरू

धनुषा, मंसिर १३ : दुई गठबन्धनसहित चुनावमा गए पनि कसैको बहुमत नआएपछि मधेस प्रदेशमा सरकार बनाउन सकस देखिएको छ।

सरकार बनाउन संख्या नपुगेको र केन्द्रको समीकरण पनि कसरी अगाडि बढ्छ भन्ने प्रष्ट भइनसकेकाले मधेस प्रदेशमा सरकार कसको र कसरी बन्छ भन्ने अन्योल देखिएको हो।

सत्तागठबन्धनको मुख्य घटक नेपाली कांग्रेसका मधेस प्रदेश सभापति कृष्ण यादवले लोकतान्त्रिक–वाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउने विषयमा छलफल भइरहे पनि केन्द्रको निर्देशन र समानुपातिकतर्फको परिणाम आएपछि नै ठोसरूपमा अगाडि बढ्ने बताए। उनले गठबन्धनका सबै दल र त्योभन्दा बाहिर रहेकासँग पनि कुराकानी भइरहेको बताए।

‘समानुपातिकको परिणाम आएपछि सरकार बनाउने अवस्थाका बारेमा घनीभूत छलफल गर्छौं’, यादवले भने, १अहिलेकै अवस्थामा गठबन्धन दलकै नेतृत्वमा सरकार बनाउनेमा हामी सबैको एक मत छ । त्यहीअनुसार अगाडि बढिरहेका छौं।’

सत्तागठबन्धनकै अर्को घटक माओवादी केन्द्रका नेता भरत साहले पनि गठबन्धनलाई नै अगाडि लिएर जाने बताए। उनले अहिले आफूहरु गठबन्धनका नेताहरू छलफलमै भएको बताउँदै पुगनपुग सङ्ख्या स्पष्ट भएपछि त्यहीअनुसार थप रणनीति बनाउने बताए।

एमाले–जसपा गठबन्धन पनि आफ्नो नेतृत्वमा सरकार बनाउने गरी छलफलमै छ । एमाले मधेस प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले प्रदेश कमिटीको बैठक आजै बसेर यस विषयमा पार्टीको धारणा बनाउने बताए। उनले आफू पक्षीय गठबन्धन दल मिलेर सरकार बनाउने सम्भावना र अरु विकल्पका बारेमा केन्द्रको निर्देशन र प्रदेश कमिटीको निर्णयअनुसार अगाडि बढ्ने बताए।

त्यसैगरी जसपाका नेता एवं मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जसपा तेस्रो दलको हैसियतमा रहेकाले अरु दलको निर्णय र आवश्यकताका आधारमा अघि बढ्ने बताए। उनले एमालेसँग उभिएर चुनावमा गएको तर दुई पार्टी मिलेर सरकार बन्ने अवस्था नरहेकाले राष्ट्रिय राजनीतिक समीकरण र जनताको ‘म्यान्डेड’ अनुसार प्रदेश सरकारबारे निर्णय हुने धारणा राखे।

दुवै गठबन्धनको सरकार बनाउन सङ्ख्या नपुगेको अवस्थामा जनमत पार्टी र स्वतन्त्र उम्मेदवारहरू निर्णायक हुने देखिएको छ। यी दुवै गठबन्धनका नेताहरूको ध्यान पनि जनमत पार्टी र स्वतन्त्र उम्मेदवारमै छ।

कांग्रेस प्रदेश सभापति यादवले पनि जनमत पार्टीलगायत स्वतन्त्रहरूसँग छलफल गरेर अगाडि बढ्ने बताए। तर, जनमत पार्टीका प्रवक्ता बिपी साहले भने सकेसम्म आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउने गरी छलफल भइरहेको बताए। उनले भने, ‘एक्लै चुनाव लडेको हिसाबले हामी सबैभन्दा ठूलो पार्टी हो, त्यसैले आफ्नै नेतृत्वमा सरकार बनाउन लाग्छौं।’

१०७ सदस्यीय मधेश प्रदेशसभामा प्रत्यक्षतर्फ लोकतान्त्रिक–वाम गठबन्धनमा अहिले २८ र एमाले–जसपा गठबन्धनमा २४ मत छ । यहाँ एमालेले १५, कांग्रेसले १३, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४, जसपाले ९, लोसपाले सात, जनमत पार्टी र स्वन्तन्त्र उम्मेदवारहरूले ६–६ सिट जितेका छन् । 

प्रकाशित मिति: १९:४६ बजे, मंगलबार, मंसिर १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्