विप्लव कार्यकर्ताद्वारा गाउँपालिका अध्यक्षको अपहरण
दैलेख, पुस ६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताले दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अपहरण गरेका छ....
दैलेख, पुस ६ : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा कार्यकर्ताले दैलेखको ठाटीकाँध गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीको अपहरण गरेका छन्।
गएराति आएको एक समूहले अध्यक्ष शाही र उनकी पत्नी ईला मल्ललाई घरबाटै अपहरण गरेको अध्यक्षका भाइ हस्त शाहीले बताए। ‘राति १२ बजेतिर चार पाँच जना आएका थिए, सोधपुछ गर्नु छ भनेर लगे,’ उनले भने।
उनी गएराति ठाटीकाँध गाउँपालिका–२ श्रीपाटास्थित आफ्नै घरमा सुतिरहेका थिए। राति बिउझाएर सोधपुछ गर्नुछ भनेर लगेका हुन्। उनीहरुले हस्तलाई पनि लगेका थिए। तर, उनलाई राति १ बजे छोडेको उनले बताए।
त्यस्तै, अध्यक्ष शाहीकी पत्नीलाई पनि आज बिहान छोडेका छन्। उनी बिहान ९ बजे परिवारजनको सम्पर्कमा आएकी छन्।
अध्यक्ष शाहीलाई भने छोडेको छैन। उनको अवस्था अज्ञात रहेको परिवारजनले जनाएको छ।
अध्यक्ष शाहीलाई अपहरण गरेको विषयमा जानकारी आएको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षेत्रीले बताए। कसले अपहरण गरेको हो भन्ने पुष्टि नभएको उनले बताए। उनका अनुसार, सुरक्षा निकायले पनि विप्लव पार्टीमाथि शंका गरेको छ।
स्थानीय वासिन्दाले भने विप्लव पार्टीका कार्यकर्ताले नै लगेको बताएका छन्। विप्वल पार्टीले पनि यसको जिम्मेवारी लिएको छैन।






