थापाथलीको सुकुम्वासी वस्ती हटाउन खोज्दा झडप, एसपी राजु पाण्डेसहित दर्जनौं घाइते

काठमाडौं, मंसिर १२ : काठमाडौंको थापाथलीस्थित वाग्मती नदी किनारका सुकुम्बासी बस्ती खाली गराउन खोज्दा झडप भएको छ ।
काठमाडौं महानगरपालिका र अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको टोली एक्स्काभेटर लिएर बस्ती हटाउन पुगेपछि सुकुम्बासी बस्तीमा बस्नेहरुले ढुङ्गामुडा गरेका थिए । सो क्रममा झपड भएको हो । सो क्रममा महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजु पाण्डेसहित १९ जना घाइते भएका छन् ।
घाइतेहहरुको नर्भिक अस्पतालमा उपचार गरिएको छ । झपड पछि सो बस्तीमा टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले उचित बिकल्प दिएर मात्रै आफुहरुलाई हटाउनुपर्ने बताएका छन् । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले केहि दिन अघि सार्वजनिक सूचना जारी गर्दै खोला किनाराका अवैध घरटहरा हटाउन अल्टिमेटम जारी गरेको थियो । तर सुकुम्वासी बस्ती खाली नभएपछि बलपूर्वक हटाउन खोजिएको थियो ।
राष्ट्रिय सुकुम्बासी मोर्चाका महासचिव अर्जुन कुँवरले विकल्प नदिई वस्ती हटाउन आएपछि प्रतिरोध गरिएको बताए। ‘विकास विरोधी हामी पनि होइनौँ, हामीलाई बसोबासको व्यवस्था गरे छोड्छौँ भनेका छौँ,’ उनले भने, ‘हाम्रो जाने ठाउँ छैन यही मारे मर्न तयार छौँ,’ उनले भने ।
बाग्मतीको किनारमा बस्नु रहर नभई बाध्यता भएको उनले बताए । ‘हिजोको प्राकृतिक प्रकोप, आर्थिक अवस्थाका कारण किनारमा बस्न पुगेका हौँ, यहाँ बस्ने रहर होइन,’ उनले काठमाडौंप्रेससँग भने । शिक्षा, स्वास्थ्य, रोजगारको अवसर केन्द्रमा छ । राज्यले १० वर्षसम्म बसेकालाई सुकुम्वासीलाई लालपुर्जा दिनेभन्दै नीति बनाएर भत्काउन आउनु अन्याय भइरहेको उनको भनाइ छ । ‘गरिब भनेर त्यसै उठिबास लगाउन पाइदैन,’ उनले भने, ‘राज्यले बलप्रयोग गरे हामी मर्न र मार्न तयार छौँ ।’











