Kathmandu Press

प्रतिनिधिसभा : यी आठ महिला, जसले चुनावी परिणाम आफ्नो पक्षमा पारे

सुनसरी ३ मा अग्रता कायम गरिरहेकी एमालेकी भगवती चौधरीले पनि जित निकालेको अवस्थामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव जित्ने महिलाको संख्या ९ पुग्नेछ। 
प्रतिनिधिसभा : यी आठ महिला, जसले चुनावी परिणाम आफ्नो पक्षमा पारे

काठमाडौं, मंसिर १२ : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको नतिजा धमाधम आइरहेका बेला प्रतिनिधिसभा प्रत्यक्षतर्फ विभिन्न दल र स्वतन्त्रका २३५ महिलाले उम्मेदवारी दिएकोमा पछिल्लो मतपरिणामअनुसार ८ महिलाले विजय हासिल गरिसकेका छन्।

जसमा नेपाली कांग्रेसबाट एकजना सीता गुरुङ (तेह्रथुम), नेकपा एमालेबाट तीनजना विद्या भट्टराई (कास्की २), जुलीकुमारी महतो (धनुषा ३) र ज्वालाकुमारी साह (बारा ३), नेकपा माओवादी केन्द्रबाट रेखा शर्मा (दाङ २), राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुईजना सोबिता गौतम (काठमाडौं २) र डा. तोसिमा कार्की (ललितपुर ३) तथा नागरिक उन्मुक्ति पार्टीबाट एकजना रन्जिता श्रेष्ठ (कैलाली १) छन्।

सुनसरी ३ मा अग्रता कायम गरिरहेकी एमालेकी भगवती चौधरीले पनि जित निकालेको अवस्थामा प्रतिनिधिसभा प्रत्यक्षतर्फ चुनाव जित्ने महिलाको संख्या ९ पुग्नेछ। 

Hardik ivf

यसपटक मुख्य राजनीतिक दलहरूबाट धेरै महिलाले उम्मेदवारीको अवसर पाएनन्। उम्मेदवारी अवसर पाउनेहरू पनि धेरैले पराजय भोगे। एमालेले प्रतिनिधिसभा प्रत्यक्षतर्फ उम्मेदवारी ११ महिलाले उम्मेदवार बन्ने अवसर पाएका थिए। उनीहरूमध्ये सातजना पराजित भइसकेका छन् भने एक जना जितका लागि संघर्षरत छिन्।

आठ महिला उम्मेदवार खडा गरेको नेकपा माओवादी केन्द्रबाट सातजनाका लागि नतिजा फलदायी हुन सकेन। नेपाली कांग्रेसका पाँच उम्मेदवारमध्ये चारजनाका लागि नतिजा निराशाजनक बन्न पुगेको छ।  

अग्रता कायम गरिरहेकी चौधरीले जितेको अवस्थामा प्रतिनिधिसभा सदस्यका लागि चुनाव जित्ने महिलाको संख्या ९ पुग्नेछ। सो संख्या प्रतिनिधिसभा सदस्यमा चुनिनुपर्ने १६५ जनाबाट हिसाब गर्दा शून्य दशमलव ५ प्रतिशतको हाराहारीमा  पुग्छ।

संसद्मा कम्तीमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनैपर्ने संवैधानिक व्यवस्था छ। यस अर्थमा समानुपातिकबाट यसपटक धेरै महिलाले संसद् प्रवेशको मौका पाउने अवस्था देखिन्छ।        

यी हुन् प्रतिनिधिसभाको चुनाव जित्ने ८ महिला

१. विद्या भट्टराई  

एमालेबाट चुनाव जित्ने महिला मध्येकी एक हुन् विद्या भट्टराई। उनी कास्की २ बाट निर्वाचित भएकी हुन्। उनले ४ हजार ५०३ मतान्तरले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पराजित गरेकी हुन्। जितका लागि भट्टराईले १६ हजार ९९८ मत पाउँदा कँडेलले १२ हजार ४९५ मतमै रोकिए। 

त्यसो त भट्टराईको संसद् छिरेको यो दोस्रोपटक हो। यसअघि २०७६ सालमा सम्पन्न उपनिर्वाचनमा कास्की २ बाटै उनले विजय हासिल गरेकी थिइन्। उनी एमालेका प्रभावशाली युवा नेता रवीन्द्र अधिकारीकी पत्नी हुन्।

 

bidya1669630208.jpg

२०७६ सालको उपनिर्वाचनअघिका निर्वाचनहरूमा कास्की २ मा रवीन्द्र अधिकारीले चुनाव लड्दै र जित्दै आएका थिए। २०७४ सालमा चुनाव जितेर संसद्मा पुगेका अधिकारीले पर्यटनमन्त्री हुँदाकै बखतमा हेलिकप्टर दुर्घटनामा परेर ज्यान गुमाए। त्यसपछि आफ्ना पति लड्दै आएको क्षेत्रमा उनी दुईपटक चुनावी प्रतिस्पर्धामा उत्रिइन् र परिणाम आफ्नो पक्षमा पारिन् पनि।   

त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पनि रहेकी विद्या पार्टीको आग्रहमा सो पदबाट राजीनामा दिएर राजनीतिमा होमिएकी हुन्। २०७६ को उपनिर्वाचनमा उनले कांग्रेसका खेमराज पौडेलाई ८ हजार ४०३ मतको अन्तरले पराजित गरेकी थिइन्। 

२. ज्वालाकुमारी शाह

एमालेकी अर्की उम्मेदवार नेत्री ज्वाला कुमारी साह पनि प्रतिनिधिसभा सदस्यमा बारा ३ बाट विजयी भएकी छन्। उनले २० हजार २५१ मत ल्याउँदा उनका मुख्य प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का रामबाबुकुमार यादवले १७ हजार २६९ मत पाए। साहले यादवलाई २ हजार ९८२ मतान्तरले पराजित गरेकी हुन्।  

साह माओवादी पृष्ठभूमि भएकी नेत्री हुन्। २०७४ सालको आम निर्वाचनमा पनि उनी बारा ३ प्रदेशसभा (ख) बाट जितेर मधेस प्रदेशकी सांसद भएकी थिइन्। त्यतिबेला उनले माओवादी केन्द्रबाट चुनाव लडेकी थिइन्।

 

jwala1669630208.jpg

दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेकपामा चर्को आन्तरिक विवाद आएपछि र प्रतिनिधिसभा विघटनजस्ता घटनाक्रमले निम्त्याएको उतारचढावबीच २०७७ फागुन २३ गते सर्वाेच्च अदालतको आदेशपछि नेकपाको एकता खारेज भयो। ती दुई पार्टी पूर्ववत् अवस्थामा फर्कंदा उनी एमालेतिर सक्रिय भएकी हुन्। नेकपा चरम आन्तरिक विवादमा रुमलिँदा ओली समूहतिर लागेको भन्दै माओवादी केन्द्रले साहसहित चारजनालाई सांसद पदबाट हटाएका थिए।  

२०७८ जेठ २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको मन्त्रिपरिषद्मा उनलले कृषिमन्त्रीको जिम्मेवारी पनि सम्हालेकी थिइन्। 

३. सीता गुरुङ 

प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षबाट कांग्रेसले अघि सारेका पाँच महिला उम्मेदवारमध्ये जित निकाल्न सफल एक मात्र नेत्री हुन्, सीता गुरुङ। तेह्रथुमबाट निर्वाचित उनले एमाले उम्मेदवार विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पराजित गरेकी हुन्। गुरुङले १९ हजार ७०२ मत बटुल्दा सुब्बाले १८ हजार ६२३ मतमै सीमित भए। 

 

sita1669630208.jpg

२०४६ सालमा १८ वर्षकी हुँदा कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेकी सीता विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदै महिला अधिकारका मुद्दामा निरन्तर सक्रिय रहँदै आएकी छन्।

२०६७ र २०७२ सालमा कांग्रेस केन्द्रीय सदस्यसमेत भएकी उनी २०६४ सालको संविधानसभा निर्वाचन र २०७० संविधानसभा निर्वाचनमा समानुपातिकबाट संंविधानसभा सदस्य भएकी थिइन्। २०७४ को निर्वाचनमा उनी एमालेका भवानीप्रसाद खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन्।  

२०७४ सालमा उनले भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीको जिम्मेवारी वहन गर्ने मौकासमेत पाइसकेकी छन्। 

४. रेखा शर्मा 

नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यका लागि अघि सारिएका आठ महिला उम्मेदवारमध्ये जित निकाल्न रेखा शर्मा मात्र सफल भइन्।

दाङ २ बाट गठबन्धनका तर्फबाट साझा उम्मेदवार रहेकी शर्मा २६ हजार ८७७ मत ल्याई विजयी भएकी हुन्। नेकपा एमालेका महासचिव एवं पूर्वमुख्यमन्त्री शंकर पोखरेललाई उनले १९६ को झिनो मतान्तरले हराएकी हुन्। शर्मासँग पराजित पोखरेलले २६ हजार ६८१ मत ल्याए। 

 

rekha1669630208.jpg

२०४२ सालमा विद्यार्थी जीवनबाटै अनेरास्ववियु (क्रान्तिकारी) सँग जोडिएकी रेखाले सोही संगठनको जिल्ला उपाध्यक्ष हुँदै राजनीतिक यात्रालाई तीव्रता दिएकी थिइन्। २०४८ सालमा अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष भएकी उनी २०५० सालमा सोही संघकी केन्द्रीय सदस्य बनिन्।

२०५३ देखि २०५७ सालसम्म माओवादीनिकट महिला संगठनको केन्द्रीय अध्यक्ष भएर काम गरेकी उनी २०५७ मा पार्टी केन्द्रीय सदस्य भएकी हुन्। उनको संसदीय यात्रा भने २०७० बाट सुरु भएको हो। उनी २०७० सालको दोस्रो संविधानसभा निर्वाचन र २०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपालिक प्रणालीबाट संसद्मा चुनिएकी थिइन्। उनको यो तेस्रो संसदीय यात्रा हो। 

५. सोविता गौतम 

यसपटकको आम निर्वाचनबाट राष्ट्रिय दलका रूपमा स्थापित हुँदै गरेको राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुई महिलाले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जितको नतिजा हात पारेका छन्। तीमध्ये एक हुन्, २७ वर्षीया सोविता गौतम। प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुने महिलामध्ये उनी सबैभन्दा कान्छी हुन्। 

 

sobita1669630207.jpg

काठमाडौं २ बाट उम्मेदवारी दिएकी गौतमले निकटतम प्रतिस्पर्धी एमालेका मणिराम फुयाँललाई ३ हजार ६७४ मतान्तरले पराजित गरेकी हुन्। सोविताले १५ हजार २२९ मत ल्याउँदा फुयाँलले ११ हजार ५५५ भन्दा बढी मत आफ्नो पक्षमा पार्न सकेनन्। 

त्रिभुवन विश्वविद्यालयबाट कानुन विषयमा स्नातक सोविताको राजनीतिक यात्रा त्यति लामो छैन। उनको राजनीतिक जीवनको सुरुवात राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनासँगै भएको हो। छोटो समयमै पार्टी स्थापित हुनु र सोही पार्टीबाट संसद बन्ने अवसर पाउनु उनका लागि महत्वपूर्ण उपलब्धि बनेको छ।  

६. डा. तोसिमा कार्की 

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा चुनिने अर्की    महिला हुन्, तोसिमा कार्की। ललितपुर ३ बाट उम्मेदवारी दिएकी उनले १४ हजार २०८ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका एमाले उम्मेदवार अमृत खड्का भने ८ हजार २२३ मतमै सीमित बने। कार्कीले खड्कालाई ५ हजार ९८५ मतान्तरले पराजित गरेकी हुन्। 

उनकै क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेकी माओवादी केन्द्रकी नेत्री पम्फा भुसाल तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भइन्। ऊर्जामन्त्रीसमेत रहेकी भुसालले ८ हजार ७६९ मत मात्र पाइन्। २०७४ सालमा भुसालले ललितपुर ३ बाटै चुनाव जितेकी थिइन्।

 

toshima1669630207.jpg

पेसाले चिकित्सक रहेकी डा. तोसिमाको यो नै पहिलो चुनावी यात्रा हो। नेपाल मेडिकल काउन्सिलमा कार्यकारी सदस्यसमेत भइसकेकी  उनी चिकित्सा शिक्षा सुधारका अभियन्ता गोविन्द केसीको प्रतिबद्ध समर्थक रहँदै आएकी छन्। प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिनुअघि उनी पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यापन गर्थिन्।

यसअघि कुनै राजनीतिक दलसँग आबद्धता नजनाएकी उनले राष्ट्रिय स्वतन्त्र पार्टीबाटै राजनीतिक यात्रा आरम्भ गरेकी हुन्। पहिलो प्रयासमै संसद्सम्मको यात्रा उनका लागि महत्वपूर्ण अवसर हुन सक्छ। 

७. रन्जिता श्रेष्ठ

कैलाली १ बाट नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ ३० हजार ४०४ मत ल्याएर निर्वाचित भएकी छन्। श्रेष्ठले नेपाली कांग्रेसका रामजनम चौधरीलाई १२ हजार ३२३ मतले पराजित गरेकी हुन्। रामजनम चौधरीले १८ हजार ८१ मत ल्याएका थिए। 

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा कैलाली १ बाट रन्जिताका पति रेशमलाल चौधरी भूमिगत अवस्थामै रहेर राष्ट्रिय जनता पार्टी (राजपा) बाट ३४ हजार ३४१ मत ल्याई विजय भएका थिए।  त्यतिबेला उनले वाम गठबन्धनबाट उम्मेदवार रहेकी एमालेकी मदनकुमारी साहलाई पराजित गरेका थिए।

 

ranjita1669630207.jpg

‘अखण्ड सुदूरपश्चिम’ चर्किने क्रममा २०७२ भदौ ७ मा कैलालीको टीकापुरमा सातजनाको ज्यान जानेगरी भएको घटनाका कारण उनी भूमिगत भएका थिए। सोही घटनाका मुख्य दोषी ठहरिएपछि हाल चौधरी जेलमा छन्। जेलमा रहँदैको अवस्थामा चौधरीले २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी खोलेका थिए। सोही पार्टीमा रन्जित अध्यक्ष छिन्।  

रन्जिताले लामो समय रेडियो पत्रकारिता गरेकी थिइन्। राजनीति आएपछि अहिले उनी राष्ट्रिय चर्चाको पात्र बनेकी छन्। काठमाडौंमा जन्मेकी, हुर्केकी, पढेकी रन्जिताले पछिल्लो समय पतिको जन्मथलोलाई राजनीतिक क्षेत्र बनाएकी छन्। पार्टीगत रूपमा अघि बढेकै कारण रन्जित जनताबाट अनुमोदित भई संसद प्रवेशको ढोका खोलन सफल भएकी छन्।

८. जुलीकुमारी महतो

धनुषा ३ मा एमालेकी उम्मेदवार जुलीकुमारी महतो निर्वाचित भएकी छन्। उनले जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरेकी हुन्। जुलीले ३३ हजार ३५५ मत प्राप्त गर्दा गठबन्धनका साझा उम्मेदवार झाले २३ हजार ६८६ मत बटुले। 

अनेरास्ववियुबाट राजनीतिमा सक्रियता बढाएकी महतोको प्रत्यक्षतर्फ यो पहिलो जित हो। यसअघि उनी २०६४ को पहिलो संविधानसभाको निर्वाचनमा समानुपातिकबाट उनी सभासद् बनेकी थिइन्।

juli1669630208.jpg

२०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा उनले धनुषा ३ बाटै सभासदका लागि उम्मेदवारी दिने अवसर पाएकी थिइन्।महतो त्यतिबेला तत्कालीन कांग्रेस उपसभापति विमलेन्द्र निधिसँग पराजित भएकी थिइन्।

२०७४ सालमा उनी फेरि समानुपातिकबार्ट सांसद बनिन्। सोही क्रममा उनी २०७६ सालमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीको जिम्मेवारीसमेत वहन गरिसकेकी छन्।  
 

प्रकाशित मिति: १५:३३ बजे, सोमबार, मंसिर १२, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्