रद्द भएका दोलखाका दस केन्द्रमा मंसिर १५ गते चुनाव गरिने

काठमाडौं, मंसिर १२ : निर्वाचन रद्द भएका दोलखाका १० केन्द्रमा विहीबार (मंसिर १५ गते) मतदान हुने भएको छ । जिल्ला निर्वाचन व्यवस्थापन समितिको सोमबार बसेको बैठकले रद्द गरिएका केन्द्रमा मंसिर १५ गते फेरि चुनाव गर्ने निर्णय गरेको हो ।
मंसिर ४ को चुनावमा नेपाली कांग्रेसले धाँधली गरेको भन्दै नेकपा एमालेले उजुरी दिएपछि निर्वाचन आयोगको टोली दोलखा पुगेर अध्ययन गरेको थियो। अध्ययनपछि आयोगले १० मतदान केन्द्रमा बुथ कब्जा भएको निष्कर्ष निकालेको थियो।
यसपछि आयोगले विवादित केन्द्रमा पुनः मतदान गराउन भनेको थियो।
वैतेश्वर गाउँपालिका २ जनज्योति माविका क र ख केन्द्र, वडा नम्बर ३ को कालिढुंगा मावि क, ख र ग केन्द्र, ६ को वैतेश्वर मावि क, ख र ग केन्द्र, तामाकोशी गाउँपालिका ३ हेल्थपोस्ट भवनमा रहेका क र ख केन्द्र गरी १० केन्द्रमा पुनस् मतदान गर्ने निर्णय आयोगले गरेको थियो।











