Kathmandu Press

अब पाँच दलीय गठबन्धनको सरकार बन्छ र त्यो पाँच वर्षसम्म टिक्छ : गृहमन्त्री खाण

कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुनाले यसपटक आएको मतपरिणमलाई आफूले सहजतापूर्वक लिएको र जनताको अभिमतलाई सहर्ष रूपमा स्वीकार गरेको उनको भनाइ थियो।
अब पाँच दलीय गठबन्धनको सरकार बन्छ र त्यो पाँच वर्षसम्म टिक्छ : गृहमन्त्री खाण

भैरहवा, मंसिर ११ : गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने र त्यो पाँच वर्षसम्म टिक्ने बताएका छन्।

आज (आइतबार) बिहान रुपन्देहीको भैरहवामा आयोजित पाँच दलीय गठबन्धनको बैठकमा उनले त्यस्तो बताएका हुन्। उनले प्रधानमन्त्री को बन्ने भन्नेबारे पाँच दलका शीर्ष नेता बसेर टुंगो लगाउने बताए।

‘कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बसेर अब बन्ने प्रधानमन्त्रीको टुंगो लगाउनुहुन्छ,’ उनले भने।

कृष्णप्रसाद भट्टराईको स्कुलिङमा हुर्केको हुनाले यसपटक आएको मतपरिणमलाई आफूले सहजतापूर्वक लिएको र जनताको अभिमतलाई सहर्ष रूपमा स्वीकार गरेको उनको भनाइ थियो। उनी रुपन्देही ३ मा राप्रपा नेता दीपक बोहोरासँग पराजित भएका हुन्।

उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा एकै चरणमा सम्पन्न गर्ने मुख्य भूमिका पूरा गर्न पाएकोमा आफूलाई गर्व लागेको बताए ।

प्रकाशित मिति: १३:३२ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्