Kathmandu Press

मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय

मधेसबाट माओवादीको निर्वाचन चिह्न जोगाउने राय

जनकपुरधाम, मंसिर ११ : मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)को निर्वाचन चिह्न जोगाउने महेन्द्र राय यादव एक्लो सांसद भएका छन।

माओवादी केन्द्रले मधेस प्रदेशका चार क्षेत्रमा उम्मेदवारी दिएकामा सबै क्षेत्रको परिणाम आउँदा उनीमात्रै निर्वाचित भएका छन। सर्लाही दुईबाट सत्ता गठबन्धनकै सहयात्री दल लोकतान्त्रिक समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई पराजित गर्दै राय निर्वाचित भएका हुन। रायले २३ हजार पाँच सय २९ मत पाउँदा महतोले २१ हजार पाँच सय १८ मत प्राप्त गरेका छन।

Hardik ivf

मधेस प्रदेशमा माओवादीले धनुषा–१, महोत्तरी–१, सिरहा–३ र सर्लाही–२ मा उम्मेदवारी दिएको थियो । धनुषा–१ मा पार्टीका उपमहासचिव मातृका यादव जनता समाजवादी पार्टीका दीपक कार्कीसँग पराजित भएका छन। महोत्तरी–१ मा उपमहासचिव गिरिराजमणि पोखरेल नेकपा (एमाले) नेता लक्ष्मी महतो कोइरीसँग र सिरहा–३ मा विश्वनाथ साह एमाले नेता लीलानाथ श्रेष्ठसँग पराजित भए।

विसं २०७४ मा राष्ट्रिय जनता पार्टीबाट सोही क्षेत्रबाट निर्वाचित राय अहिले पनि माओवादी होइनन् । उहाँ डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको अध्यक्ष हुन । पार्टी फरक भए पनि उनी यसपटक गठबन्धनका कारण माओवादी केन्द्रको चुनाव चिह्न हसियाँ हथौडा लिएर चुनावमा होमिनु भएको थियो।

को हुन राय ?

राय नेपाली राजनीतिको परिचित नाम हो । विसं २०६२/६३ अघिसम्म एमालेबाट राजनीति गर्नुभएका राय सो पार्टीको केन्द्रीय सदस्यसमेत बने। सोही पार्टीबाट २०५१ को मध्यावधि निर्वाचन र २०५६ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बनेर सर्लाहीबाट निर्वाचित भए।

तर २०६२/६३ को आन्दोलनपछि एमाले परित्याग गरी तराई–मधेस लोकतान्त्रिक पार्टी स्थापना गरेर त्यसको महासचिव बने। राजनीतिक घटनाक्रमले मधेसवादी दल जुट्न र फुट्न थालेपछि उनी तमलोपा परित्याग गरी तराई मधेस सद्भावना पार्टी हुँदै राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्यसमेत भए। पछि राष्ट्रिय जनता पार्टी र सङ्घीय समाजवादी फोरम एकीकरण गरी बनेको जनता समाजवादी पार्टी हुँदै अहिले नेपाल समाजवादी पार्टीको आवद्ध थिए।
 
राय २०६४ र २०७० को संविधानसभा सदस्य निर्वाचनमा पनि सर्लाही–४ बाट विजयी भएका थिए। संविधान निर्माणपछिको पहिलो आमनिर्वाचन २०७४ मा पनि उनी सर्लाही–२ बाट निर्वाचित भए। उनी २०५४ मा राज्यमन्त्री, २०६४ मा सिँचाइमन्त्री, २०६७ मा उद्योगमन्त्री र २०७४ को निर्वाचनपछि कृषि तथा पशुपक्षी विकासमन्त्री बनेका थिए।

प्रकाशित मिति: १०:०६ बजे, आइतबार, मंसिर ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्