Kathmandu Press

नेकपासँगको दुई बुँदे सम्झौताले सरकारमा जाने बाटो खुल्दैन : महतो

काठमाडौं, पुस ५ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिले ....

नेकपासँगको दुई बुँदे सम्झौताले सरकारमा जाने बाटो खुल्दैन : महतो
फाइल

काठमाडौं, पुस ५ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले नेकपा र राजपा नेपालबीच हालै भएको २ बुँदे सहमतिले मात्रै सरकारमा जाने बाटो नखुल्ने बताएका छन्।

उनले दुई बुँदे सहमतिलाई लिएर सरकारमा आफूहरुको सहभागिता र २ नम्बर प्रदेशको सरकारमा असर पर्ने भनेर गरिएको अड्कलबाजीमा कुनै सत्यता नभएको पनि स्पष्ट पारे। शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा संयोजक महतोलेले नेकपा र राजपाबीचको दुई बुँदे सहमतिले प्रदेश नम्बर २ को राष्ट्रियसभाको निर्वाचनमा दुवै पार्टीको २–२ सिट सुरक्षित र दुई पार्टीबीच सम्वाद जारी राख्ने स्पष्ट पारेको बताए। 

उनले पछिल्लो २ बुँदे सहमतिले नेकपासँगको आफ्नो पार्टीको ‘डेडलक’ अर्थात सम्वादहीनताको अवस्था भने अन्त्य गरेको स्पष्ट पारे। ‘हामीले सरकारबाट समर्थन फिर्ता लिएपछि डेडलकको अवस्था थियो। यो २ बुँदे सहमतिले सम्वादहीनताको अन्त्य र तोड्ने काम गर्नेछ। देशका समसामयिक राजनीतिक विषयमा पार्टीका माग र मुद्दामा सम्वाद हुन्छ। यो सहमतिले राजपा र नेकपाबीचको सम्वादलाई पूनः प्रारम्भ गर्नेछ,’उनले भने।

उनले सहमतिले संघीय सरकारमा राजपा सहभागी हुने भनेर कहीँकतै नबोलेको बताए। उनले भने,‘सम्झौता त आफैं बोलिरहेको छ नि, हामीबीच भएको सहमतिले २ नम्बर प्रदेशको सरकारलाई पनि कुनै असर गर्दैन। सम्झौताले संघीय सरकार र प्रदेश सरकारको सम्बन्धमा केही पनि बोलेको छैन।’ 

दुई पार्टीबीचको सहमतिलाई लिएर शंकाको भरमा लंका नजलाउन पनि उनले आग्रह गरे।
 

प्रकाशित मिति: १७:०२ बजे, शनिबार, पुस ५, २०७६