Kathmandu Press

नेपालमा पर्यटन : विदेशी पर्यटक बढाउन ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’

विगतमा र्‍याफ्टिङका लागि १२० वटा कम्पनी थिए। अहिले ५७ मात्र बाँकी छन्। अझै बिस्तारै र्‍याफ्टिङ व्यवसायीको संख्या घट्दै गइरहेको नेपाल एसोसियसन अफ र्‍याफ्टिङ (नारा) का अध्यक्ष शिव अधिकारी बताउँछन्।
नेपालमा पर्यटन : विदेशी पर्यटक बढाउन ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’

काठमाडौं मंसिर ९ : पछिल्लो समय नेपालमा र्‍याफ्टिङ गर्न आउने अन्तर्राष्ट्रिय पर्यटकको संख्या घट्दो छ। त्यसको असर भोलि (सोमबार) देखि हुन लागेको अन्तर्राष्ट्रिय जल खेलकुद प्रतियोगितामा समेत परेको छ । नेपाल एसोसियसन अफ र्‍याफ्टिङ (नारा) का अनुसार र्‍याफ्टिङमा अन्तर्राष्ट्रिय पर्यटक घट्दा व्यवसाय नै धरापमा पर्ने अवस्था देखिएको छ। 

भोलि (मंसिर ११ गते) देखि १३ गतेसम्म (नोभेम्बर २७ देखि २९ सम्म) त्रिशूली नदीमा २०औं ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ प्रतियोगिता हुन लागेको छ। उक्त प्रतियोगिता प्रत्येक वर्ष हुँदै आएको छ। जलक्षेत्रसँग सम्बन्धित पर्यटनको प्रवद्र्धन गरी धेरैभन्दा धेरै पर्यटक नेपाल भित्र्याउने उद्देश्यले उक्त प्रतियोगिता गर्ने गरिएको नाराका अध्यक्ष शिव अधिकारीले बताए।

प्रतियोगितामा २०० खेलाडी सहभागी हुने अनुमान गरिएको छ। जसमा अन्तर्राष्ट्रियस्तरका जल खेलाडी लगभग ५०/६० जना मात्र उपस्थित हुने नाराका अध्यक्ष अधिकारीले जानकारी दिए। ‘एक दशकअगाडिसम्म प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडी मात्र सहभागी हुन्थे, अहिले विदेशी खेलाडी खोज्नुपर्ने अवस्था छ,’ उनले भने, ‘नेपालको सहभागिता बढ्नु सकारात्मक पक्ष भए पनि अन्तर्राष्ट्रिय पर्यटक नआएसम्म र्‍याफ्टिङ व्यवसाय उक्सिन सक्दैन।’ 

Hardik ivf

त्रिशुली नदीमा १५ देखि २० किलोमिटर दुरीमा प्रतियोगिता हुनेछ। इच्छुक नेपाली तथा अन्तर्राष्ट्रिय जल खेलाडीले दुई हजार रुपैयाँ दर्ता शुल्क बुझाई प्रतियोगिता भाग लिन सकिने उनले बताए। प्रतियोगितामा प्रथम  हुनेले ३० हजार, द्वितीयले २० हजार र तृतीय हुनेले १० हजार रुपैयाँ नगद र मेडल पाउने अध्यक्ष अधिकारीले बताए।

‘विदेशी पर्यटकको मात्र सहभागिता हुँदा नेपाली उत्पादन सामग्री पुरस्कार दिइन्थ्यो, बिस्तारै नगद पुरस्कार दिन थालेका हौं,’ अध्यक्ष अधिकारीले भने, ‘नगद पनि पहिला १ लाखभन्दा बढी दिइन्थ्यो, अहिले घटेर ३० हजार रुपैयाँ मात्र दिन थालिएको हो।’ 

प्रतियोगिता सञ्चालन गर्न ६०/७० लाख रुपैयाँ लाग्ने अनुमान छ। उक्त रकम र्‍याफ्टिङ व्यवसायी र पर्यटन बोर्डलगायत विभिन्न संस्थाको सहयोगमा सञ्चालन हुने गरेको उनको भनाइ छ। जल प्रतियोगितामा अन्तर्राष्ट्रिय खेलाडीको सहभागिता घट्न थालेपछि नगद पुस्कार दिन थालिएको उनले बताए।

‘पुरस्कारको रकम थोरै र अन्तर्राष्ट्रिय जल खेलाडीका लागि कुनै सेवासुविधा उपलब्ध नगराएकाले खेलाडी आउनै छाडे,’ उनले भने, ‘पहिला विदेशीले नै खेलाडी बोलाउँथे र आउँथे तर अहिले त्यो अवस्था छैन।’ अन्तर्राष्ट्रिय खेलाडीलाई बोलाउन हवाई टिकट, बस्ने व्यवस्थालगायत अन्य सेवासुविधा दिन नसकिएको उनले बताए। 

किन घट्न थाले र्‍याफ्टिङ पर्यटक?   

नेपालमा पहिलोपल्ट दुई विदेशी पर्यटकले र्‍याफ्टिङ सुरु गरेका हुन्। विदेशी पर्यटकबाट सिकेर नेपालमा सन् १९७५ मा हिमालय रिभरले व्यावसायिक रूपमा पहिलोपल्ट र्‍याफ्टिङ सुरु गरेको हो। सन् २००२ देखि हिमालयन ह्वाइटवाटर च्यालेन्ज गर्न थालिएको हो। 

विदेशीको सहयोगमा हुने प्रतियोगितामा एक दशकअघिसम्म अन्तर्राष्ट्रिय खेलाडीको बाक्लो उपस्थिति हुने गरेको नाराका अध्यक्ष अधिकारीले बताए। ‘बाह्य पर्यटकले नै र्‍याफ्टिङका लागि प्रशस्त खेलाडी बोलाउँथे,’ उनले भने, ‘नेपाल घुम्न आउने ७०÷८० प्रतिशत पर्यटकले र्‍याफ्टिङ गरेरै आफ्नो देश फर्कन्थे।’ 

उनका अनुसार एक दशकअघिसम्म वार्षिक रूपमा ७/८ लाख पर्यटक नेपाल आउथे। धेरै पर्यटक र्‍याफ्टिङ गरेकै हुन्थ्यो। त्यतिबेला नदीहरू पनि सफा हुन्थे। र्‍याफ्टिङका लागि प्रयोग गरिने सामग्रीमा गुणस्तर पाइन्थ्यो। धेरै सेवासुविधा नभए पनि र्‍याफ्टिङ गरेर मनोरञ्जन लिन पर्यटकका लागि नेपाल रोजाइमा पर्थ्याे। 

विगतमा र्‍याफ्टिङका लागि १२० वटा कम्पनी थिए। अहिले ५७ मात्र बाँकी छन्। अझै बिस्तारै र्‍याफ्टिङ व्यवसायीको संख्या घट्दै गइरहेको अध्यक्ष अधिकारी बताउँछन्। ‘अब र्‍याफ्टिङका लागि खोलाको किनारमा होटल र र्‍याफ्टिङ गराउने व्यवसायी मात्र सफल हुन सक्ने अवस्था आएको छ,’ उनी भन्छन्, ‘ट्राभल एजेन्सी चलाएकै भरमा पर्यटकलाई र्‍याफ्टिङ गराएर अन्य होटेलमा राखेर व्यवसाय चलाउँछु भन्नेलाई कठिन अवस्था बन्दै गएको छ।’ 

र्‍याफ्टिङका लागि तोकिएका नदीवरिपरि विभिन्न तहका होटल तथा होमस्टे बन्न थालेका छन्। सिधै आउने पर्यटकलाई केही प्रतिशत छुट दिने भएपछि पर्यटक सिधै ती होटल र हामस्टेमा  पुग्छन्। ‘तर मनलाग्दी शुल्क र गुणस्तरमा कमी हुँदा पर्यटकहरू बिच्किएका छन्, ‘यस्तो कुराको कतै पनि अनुमगन भएको पाइन्न,’ उनले भने, ‘पर्यटक धेरै भित्र्याउने तर गुणस्तरहीन सामान प्रयोग गर्ने हुँदा पर्यटक घट्न थालेको अनुमान लगाउन सकिन्छ।’  

उनका अनुसार अन्तर्राष्ट्रिय पर्यटक नदीका मज्जा लिएर र्‍याफ्टिङ गर्न मन पराउँछन्। तर नेपाली पर्यटकको स्वाभाव अलि फरक हुन्छ। स्वदेशी पर्यटक होहल्ला गरेर रमाउने कोसिस गर्छन्। अन्तराष्ट्रिय पर्यटक महसुस हुनेगरी अनुभव बटुल्न चाहन्छन्। 

अहिले र्‍याफ्टिङ व्यवसायीले बाह्य तथा स्वदेशकै पर्यटकलाई एकै ठाउँमा राखेर जलयात्रा गराइन्छ। अन्तर्राष्ट्रिय पर्यटकले चाहेजसरी र्‍याफ्टिङ गराउन नसक्दा व्यवसाय नै ओरालो लागेको उनको बुझाइ छ। ‘बाह्य पर्यटकले चाहेजस्तो सेवासुविधा दिन सकिएन, त्यसैले र्‍याफ्टिङका लागि पर्यटक घट्दैछन्,’ उनले भने।

उनका अनुसार र्‍याफ्टिङमा पर्यटकीय सुरक्षाबारे पनि ध्यान दिइएको पाइन्न। ‘नदीमा फोहोर हुँदा पर्यटक संख्या घट्दो छ,’ उनले भने, ‘र्‍याफ्टिङ जोगाइराख्न नदी संरक्षण गर्नु पनि अत्यावश्यक छ।’ पर्यटन मन्त्रालय, विभाग र बोर्डले र्‍याफ्टिङबारे अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार गर्न नसकेको आरोप अध्यक्ष अधिकारी लगाउँछन्। 

हाइड्राेपावरले र्‍याफ्टिङमा समस्या 

साहसिक जल पर्यटनका लागि विश्वकै उत्कृष्ट गन्तव्यका रूपमा नेपाल रहेको छ। सरकारले १६ वटा नदीमा र्‍याफ्टिङ अनुमति दिएको छ। र्‍याफ्टिङका लागि संसारकै उत्कृष्टमा कर्णाली नदी पर्छ। 

भोटेकोसी, कालीगण्डकी, सुनकोसी, त्रिशूली, मस्र्याङ्दी, बलेफी, सेती, अपर सेतीलगायत नदीमा जल पर्यटकको अभ्यास हुँदै आएको छ। यी नदीमा पर्यटकले र्‍याफ्टिङ गर्न रुचाउने गरेका छन्। पछिल्लो समय यी नदीमा हाइड्रोपावर सञ्चालन भएकाले असर देखिन थालेको छ। ‘नदीको संरक्षण नगरी विभिन्न ठाउँमा हाइड्रोपावर सञ्चालन गर्न अनुमति दिइएको छ,’ उनले भने, ‘हाइड्रोपावरका कारण मर्‍याङ्दी, भोटेकोसी, त्रिशूली, अपर कर्णालीमा समेत र्‍याफ्टिङ जोखिम बढ्दै गएको छ।’ 

सरकारले हाइड्रोपावर र र्‍याफ्टिङ कम्पनीलाई एक ठाउँमा राखेर छलफल गर्न सकेको छैन। ‘जलविद्युत आयोजना, ढुंगा, गिटी, बालुवाको उत्खननले नदीहरू मासिन थालेका छन्,’ अध्यक्ष अधिकारीले भने, ‘यसले जलपर्यटनलाई अन्योलमा पारेको छ।’ 

निजी क्षेत्रले र्‍याफ्टिङ संरक्षणको कोसिस गरिरहे पनि अन्तर्राष्ट्रियस्तरमा प्रचार नहुँदा बाह्य पर्यटकको आकर्षण घट्दो छ। ‘नाराले र्‍याफ्टिङबारे प्रचारप्रसार गरिरेहेको छ तर एउटा सानो संस्थाको प्रचारले मात्र पुग्दैन, राष्ट्रिय पहल हुुनुपर्छ,’ उनले भने।

अहिले र्‍याफ्टिङमा पर्यटकको संख्या घट्दै गएको छ। यो चिन्ताको विषय हो। तर सरकारको ध्यान दिएको छैन। जल पर्यटनमा स्वदेशी पर्यटकको आकर्षण बढ्दो छ। स्वदेशी पर्यटकहरुले गर्दा जल पर्यटनमा आवद्ध व्यवसायी बाँचेका छन् तर व्यावसायिक रूपले उकालो लाग्न नसक्दा र्‍याफ्टिङ उद्योग संकटमा परेको अध्यक्ष अधिकारीको भनाइ छ। 

प्रकाशित मिति: १७:४३ बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्