Kathmandu Press

नरेन्द्र र कान्छीमायाले जिते काठमाडौं म्याराथनको उपाधि

काठमाडौं, पुस ५ : १३ औं काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका नरेन्द्र सिंह रावत र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले हात पारेका छन्....

नरेन्द्र र कान्छीमायाले जिते काठमाडौं म्याराथनको उपाधि

काठमाडौं, पुस ५ : १३ औं काठमाडौं म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका नरेन्द्र सिंह रावत र महिलातर्फ एपीएफकी कान्छीमाया कोजुले हात पारेका छन्। उनीहरुले मेडल, प्रमाण पत्र र ट्रफीका साथै नगद ५० हजार प्राप्त गरेका छन्। 

म्याराथनमा नयाँ नाम लेखाउँदै नरेन्द्रले ४२.१९५ कि.मि.को दूरी २ घण्टा ३३ मिनेट १० सेकेन्डमा पूरा गर्दै उपाधि उचालेका हुन्। उनले सेनाकै बेदबहादुर सुनुवारलाई पछि पार्दै जित निकालेका हुन्। बेदबहादुरले २ घण्टा ३४ मिनेट २० सेकेन्डमा दूरी पूरा गरे। तेस्रो स्थानमा रहेका सेनाकै ज्ञानप्रसाद भट्टराईले २ घण्टा ३४ मिनेट ४५ सेकेन्डमा दूरी पूरा गरे।

महिलातर्फ कोजुले २ घण्टा ५७ मिनेट २७ सेकेन्डमा दूरी पार गरिन्। कोजुको यो लगातार तेस्रो उपाधि हो। दोस्रो स्थानमा रहेकी सेनाकी सरिता बासीले ३ घण्टा १९ मिनेट ०७ सेकेन्ड र तेस्रो स्थानमा रहेकी निर्जला ताम्राकारले ३ घण्टा ४७ मिनेट ४५ सेकेन्डमा दूरी पुरा गरिन्।

विजयी शीर्ष तीन खेलाडीहरुले मेडल, प्रमाण पत्र र नगद ५० हजार, २० हजार र १५ हजार प्राप्त गरे। 

प्रो स्पोर्टसको आयोजनामा भएको प्रतियोगिताको हाफ म्यारथनमा पुरुषतर्फ सेनाका राजन रोकायाले १ घण्टा १० मिनेट २६ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारे। दोस्रो स्थानमा हरि रिमालले १ घण्टा ११ मिनेट १३ सेकेन्डमा र तेस्रो स्थानमा रहेका सेनाकै रामजी बस्नेतले १ घण्टा ११ मिनेट २१ सेकेन्डमा दूरी पूरा गरे। 

महिलातर्फको हाफ म्याराथन सेनाकी पूर्ण लक्ष्मी न्यौपानेले जितिन्। उनले निर्धारित दूरी पूरा गर्न १ घण्टा २८ मिनेट ०३ सेकेन्ड लगाइन्। सेनाकै सानु माया कार्कीले १ घण्टा ३० मिनेट ०१ सेकेन्डका साथ दोस्रो र पुलिसकी रेखा विष्टले १ घण्टा ३१ मिनेट ३४ सेकेन्डका साथ तेस्रो स्थान प्राप्त गरे।

विजयी शीर्ष तीन खेलाडीहरुले २० हजार, १३ हजार र ७ हजारसहित मेडल प्रमाण पत्र प्राप्त गरे।

विजयी खेलाडीहरुलाई प्रदेश नम्बर ३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव शिवकुमार वाग्ले, पूर्व सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, ओलम्पियन बैकुण्ठ मानन्धर, क्याथी ड्रागनका अभित श्रेष्ठ, डाईनिङ्ग पार्कका आभाष पाण्डे लगायतले पुरस्कार वितरण गरेका थिए। 
 

प्रकाशित मिति: १६:२५ बजे, शनिबार, पुस ५, २०७६