Kathmandu Press

कर्णाली कोरिडोर निर्माणको काम तीव्र

हुम्ला, पुस ५ : हुम्ला सदरमुकाम सिमिकोट यो आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। 

नेपाली सेनाले कर्णाली कोरिडोर अ....

कर्णाली कोरिडोर निर्माणको काम तीव्र

हुम्ला, पुस ५ : हुम्ला सदरमुकाम सिमिकोट यो आर्थिक वर्षभित्र राष्ट्रिय सडक सञ्जालमा जोडिने भएको छ। 

नेपाली सेनाले कर्णाली कोरिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सल्लीसल्लासम्मको १ सय २३ किलोमिटर सडक निर्माणको काम सम्पन्न हुने भएपछि सदरमुकाम सिमिकोट राष्ट्रिय सडक सञ्जालमा जोडिने निश्चित भएको हो। सल्लीसल्लादेखि सिमिकोटसम्मको ५० किलोमिटर सडकको निर्माण भने निजी क्षेत्रले गरिरहेको छ। 

नेपाली सेनाका सेनानी मिलन कार्कीले सेनाले जिम्मा लिएको सडकखण्डमा अहिलेसम्म १ सय ११ किलोमिटर सडकको ट्रयाक निर्माण भइसकेको र बाँकी १२ किलोमिटर ट्रयाक खोल्ने काम भइरहेको जानकारी दिए। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले गरेको स्थालगत निरीक्षणका क्रममा सेनानी कार्कीले यस्तो जानकारी दिएका हुन्।

खुलालुदेखि हुम्लाको सिमिकोटसम्म निर्माण भइरहेको सडकको कुल लागत २ अर्ब ८४ करोड रुपैयाँ रहेको छ। जसमध्ये गत आर्थिक वर्षसम्ममा १ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको र यस आर्थिक वर्षमा ४० करोड रुपैयाँ खर्च गर्ने लक्ष्य सेनाले राखेको छ। 

दुई दशकसम्म अलपत्र परेको कर्णाली कोरिडोर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएपछि यो सडकखण्डले तिब्रता पाएको हो। २०५६ सालमा शिलान्यास गरिएको यो कोरिडोरको निर्माण २०६६ सालसम्म सडक विभाग आफैले गर्ने तयारी गरिरहेको थियो। तर कालिकोट र हुम्लाका अधिकांश भागमा ठूल्ठूला चट्टान र पहराका कारण ९ चैत २०७१ मा नेपाली सेनाले निर्माणको जिम्मा पाएको थियो।

तर अझैपनि निमार्णाधीन सडकको निर्माण धेरै खण्ड सडक विभागले निजी क्षेत्रलाई जिम्मा दिएको छ। तर सिमिकोट खर्पुनाथ खण्डमा स्थानीयको विवादले निर्माण कार्य रोकिएको छ।  निजी क्षेत्रसँग आवश्यक दक्ष जनशक्तिको अभाव हुँदा पनि काम प्रभावित भएको सव-इञ्जिनीयर अभिषेक राईले बताए। कर्णाली कोरिडोरको निर्माण तीब्र गतिमा भइरहँदा यस क्षेत्रका स्थानीयहरुमा खुशीसँगै चिन्ता पनि छ।

कतिपय ठाउँका बस्ती मासिने तथा कतिपय ठाउँमा अझैपनि सडक सञ्जाल नपुग्ने लगायतका चिन्ता स्थानीयको छ। सिमिकोट गाउँपालिका-५ का अध्यक्ष कृष्णबहादुर बोहराले हिल्सा सिमिकोट सडकखण्ड अन्तर्गत सडक विभागले कसैसँग समन्वय नगरी डिपिआर तयार गरेको र स्थानीयको खेतियोग्य जमिन बस्ती समेत मासिने भएकाले आफूहरु समस्यामा परेको सिमिकोट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष कृष्णबहादुर बोहराले बताए।

निजी क्षेत्रबाट निर्माण भइरहेको कतिपय ठाउँमा चट्याङ फोर्न सेनाको सहयोग लिनुपर्ने भएकाले पनि केही ढिलाई भएको हुम्लाका सांसद छक्कबहादुर लामाले बताए। उनले निजी क्षेत्रले सेनाको सहयोग लिँदा समय लाग्ने गरेको बताए। 

विकास तथा प्रविधि समितिका सभापति कल्याणी कुमारी खड्काले भने त्यस क्षेत्रको समस्या पहिचान गरी समाधान गर्नका लागि कर्णाली कोरिडोरको स्थालगत निरीक्षणका लागि हुम्ला पुगेको बताइन्। उनले सडक निर्माणका क्रममा ढुवानीको समस्या, ब्लास्टिङको समस्या तथा स्थानीयको बस्ती प्रभावित हुने लगायतका समस्या रहेको पाइएको बताइन्।

कर्णाली कोरिडोरको कुल लम्बाई ६ सय ८२ किलोमिटर छ। यो सडक बाँकेको जमुनाहदेखी सुर्खेत, कालीकोट, हुम्लाको सिमिकोट हुँदै हिल्सासम्म जोडिने छ। हिमाली क्षेत्र र जटिल भू-भागमा काम गर्नुपर्ने भएकाले सडक निर्माणमा थुप्रै समस्या झेल्नु परेको नेपाली सेना तथा निजी क्षेत्रका निर्माण कम्पनीहरुले बताएका छन्। 

प्रकाशित मिति: १४:५२ बजे, शनिबार, पुस ५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्