अध्ययन भन्छ- खुर्सानी खाए कम हुन्छ हृदयघातको जोखिम
नियमित खुर्सानी खाँदा हृदयघातबाट हुने मृत्युको जोखिम पनि कम हुने अनुसन्धाताले पत्ता लगाएका छन्।
इटालीमा गरिएको अध्ययनमा २३ हजार मानिसको मृत्युको जोखिम....
नियमित खुर्सानी खाँदा हृदयघातबाट हुने मृत्युको जोखिम पनि कम हुने अनुसन्धाताले पत्ता लगाएका छन्।
इटालीमा गरिएको अध्ययनमा २३ हजार मानिसको मृत्युको जोखिमको तुलना गरिएको छ। उनीहरूमध्ये केहीले खुर्सानी खान्थे र केही नखाने पनि थिए।
सहभागीको स्वास्थ्य र खानपानसम्बन्धी व्यवहारलाई आठ वर्षसम्म अनुगमन गर्दा सातामा कम्तिमा चार पटक खुर्सानी खाने मानिसको मृत्यु हृदयाघातबाट हुने जोखिम ४० प्रतिशतले कम हुने अनुसन्धाताले पत्ता लगाएका छन्।
अमेरिकन कलेज अफ कार्डियोलोजीको जर्नलमा प्रकाशित अध्ययनको निष्कर्ष अनुसार आघातबाट हुने मृत्युको जोखिम पनि आधाले घटेको छ।
“मृत्युको जोखिमको सुरक्षा मानिसको आहारसँग सम्बन्धित थिएन। यो एउटा रोचक तथ्य हो,” मुख्य लेखक मारियालोरा बोनाचियोले भनिन्। उनी मेडिटरेनियन न्युरोलोजिकल इन्स्टिच्युटमा (न्यूरोमेड) एपिडेमियोलोजिस्ट हुन्।
“अर्को तरिकाले भन्दा कोही स्वस्थ मेडिटरेनियन आहार खाने हुन्छन्। कसैले कम स्वस्थ आहार खालान् तर सबैमा खुर्सानी नै सुरक्षाको कारक देखियो,” उनले भनिन्।
अनुसन्धानले मोली सानी अध्ययनको तथ्याङ्क प्रयोग गरेको छ। त्यहाँ दक्षिण इटालीको मोलिस क्षेत्रका करिब २५ हजार सहभागी छन्। न्यूरोमेडको एपिडेमियोलोजी विभागका निर्देशक तथा भारिसको इन्सुब्रिया विश्वविद्यालयकी प्राध्यापक लिसिया लाचोभिएल्लोले खुर्सानीको फाइदाजनक गुणहरू इटालीको पाक सँस्कृतिबाट फैलिएको बताइन्।
“अहिले यो चीन र अमेरिकामा पनि देख्न सकिन्छ। भिन्न शैलीमा खाइने भए पनि क्याप्सिकम प्रजातिका विभिन्न वनस्पतिले हाम्रो स्वास्थ्यलाई सुरक्षा दिन्छ भन्ने हामीलाई थाहा छ,” लाचोभिएल्लोले भनिन्। अब अनुसन्धाताहरू खुर्सानी “बायोकेमिकल मेकानिजम” अनुसन्धान गर्न चाहन्छन् जसले खुर्सानीलाई स्वास्थ्यवर्धक बनाएको छ। बाह्य विज्ञहरूले केही सीमाहरू औंल्याउँदै अध्ययनको प्रशंसा गरेका छन्।
डुएन मेल्लोर पोषणविद् हुन्। उनी संयुक्त अधिराज्यको एस्टन मेडिकल स्कूलमा अध्यापन पनि गर्छन्। अध्ययनको निष्कर्षलाई रोचक बताए पनि लेखले खुर्सानीको खपत र स्वास्थ्यलाई पुग्ने फाइदाबारे स्पष्ट कार्यकारण सम्बन्ध नदेखाएको बताए। अध्ययनमा भनिएजस्तो खुर्सानीको सकारात्मक प्रभावलाई समग्र आहारमा खुर्सानीको प्रयोग कसरी हुन्छ त्यससँग जोड्न सकिने मेल्लोरले बताए।
“यो तार्किक पनि छ। तथ्याङ्कले इङ्गित गरेजस्तो खुर्सानी प्रयोग गर्ने मानिसले जडिबुटी र मरमसाला पनि बढी प्रयोग गर्ने गरेका छन्। उनीहरू तरकारी लगायतका ताजा खाना बढी खाने सम्भावना पनि छ,” उनले भने, “त्यसैले खुर्सानीले हाम्रो परिकार र खानामा स्वाद थपे पनि त्यसको प्रत्यक्ष प्रभाव भने थोरै हुनसक्छ। खुर्सानीले अन्य स्वस्थ खानेकुरालाई अझ स्वादिलो बनाएको हुनसक्छ।”
बेलायतको क्वाड्रम इन्स्टिच्युट बायोसाइन्सका पोषण अनुसन्धाता इयान जोनसनले उच्च गुणस्तरको अवलोकन अध्ययनलाई त्यसको बलियो विधिको प्रशंसा गरे। तर सुरक्षाको प्रभावसम्बन्धी कुनै सन्यन्त्र पनि पहिचान नभएको उनले औंल्याए। बढी खुर्सानी खानाले स्वास्थ्यमा थप फाइदा पुग्छ भनेर वैज्ञानिकहरूले पत्ता नलगाएको पनि उनले बताए।
“यस्तो सम्बन्धले अन्य आहार वा जीवनशैलीका कारणको सङ्केत गरेको हुनसक्छ। जुन हालसम्म पत्ता लागेको छैन। तर निष्पक्ष रूपमा भन्नुपर्दा यस्तो अनिश्चितता एपिडेमियोलोजिकल अध्ययनमा प्राय: हुने गर्दछ। तर लेखकहरूले यसलाई बुझेका छन्,” जोनसनले भने।