सिन्धुपाल्चोक बस दुर्घटना: मृतकको संख्या १६ पुग्यो
सुनकाेशी, पुस ४ : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनाम....

सुनकाेशी, पुस ४ : सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ स्थित लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा मृतकको सङ्ख्या १६ पुगेको छ।
दुर्घटनामा गम्भीर घाइते भई काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा उपचाररत बलेफी गाउँपालिका–३ निवासी सात वर्षीया आशिका तामाङको गएराति मृत्यु भएपछि मृतकको सङ्ख्या १६ पुगेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। उपचारका क्रममा मृत्यु भएकी बालिकाको आमाको ह्याम्स अस्पताल र बाबुको नर्भिक अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा घाइते १८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बाँच्न सफल ६ महिने बालिकाको अभिभावक अझै सम्पर्कमा नआएकाले खाडिचौरस्थित सिन्धु सदावहार अस्पतालको रेखदेखमा राखिएको छ। बालिकाकी आमा सुनिता तामाङको घटनास्थलमा मृत्यु भएको र बाबु बस चालक सुमन तामाङ फरार रहेकाले बालिकालाई अस्पतालको रेखदेखमा राखिएको हो। बालिकालाई चाँडै नै अभिभावकको खोजी गरी जिम्मा लगाइने प्रनाउ काफ्लेले बताए।
दोलखाको कालिञ्चोकबाट भक्तपुरका लागि छुटेको बा ४ ख ४४६८ नम्बरको रिजर्भ बस सडकबाट करीब १०० मिटर तल खसेर दुर्घटना हुँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो। रासस











