अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने भन्नेमा सांसदहरुबीच विवाद
काठमाडौं, पुस ४ : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने’ भन्नेमा सहमति जुट्न सकेन।&....

काठमाडौं, पुस ४ : प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा ‘अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने’ भन्नेमा सहमति जुट्न सकेन।
‘खेलकूद विकाससम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथिको शुक्रबारको दफावार छलफलमा समितिका सदस्यकाबीचमा सहमति जुट्न नसकेको हो।
‘अन्तर्राष्ट्रिय खेलाडी कसलाई मान्ने’ भन्ने विषयमा समितिको बैठकमा गत मङ्गलबारदेखि छलफल हुँदै आएको छ। समितिका सदस्यले अन्तर्राष्ट्रिय खेलमा सहभागी हुने सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्ने धारणा राखेका थिए।
युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय खेलमा पदक जितेकालाई मात्र अन्तरराष्ट्रिय खेलाडी मान्नुपर्ने बताए। बैठकमा सहमति जुट्न नसकेपछि मन्त्रालयले यस विषयमा पुनःलेखन गरेर ल्याउने जनाएको छ।
“अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्ने हो भने अहिले साग प्रतियोगितामा सहभागी ६०० खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्दछ,” उनले भने।
विश्वकर्माले भने, “ओलम्पिकको छाताभित्र रहेका धेरै खेलका सङ्घ र महासङ्घ छन्। तिनले आयोजना गर्ने खेलमा सहभागी खेलाडीलाई पनि अन्तर्राष्ट्रिय खेलाडी मान्ने हो भने कहीँकतै अन्तर्राष्ट्रिय खेलाडीको परिभाषाले अर्कै अर्थ लाग्न सक्छ।”
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष पनि रहेका समितिका सदस्य जीवनराम श्रेष्ठले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्ने बताए।
“अहिले हामीले खेलाडीलाई खासै केही गर्न सकेका छैनौँ”, उनले भने,“त्यसैले खेलाडीको मनोबल उच्च राख्न र सम्मानका लागि खेलमा सहभागी सबै खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्नुपर्दछ।”
बैठकमा समिति सदस्य गगन थापाले कुन-कुन क्षेत्रमा सहभागी खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडी मान्ने मापदण्ड बनाउनुपर्ने बताएका थिए।











