Kathmandu Press

आईपीएलको ड्राफ्टमै किन पर्दैनन् नेपाली क्रिकेटर ?

काठमाडौं, पुस ४ : विश्व क्रिकेटको सर्वाधिक ठूलो र रोमाञ्चक टी–२० फ्रेन्चाइज प्रतियोगिता हो, इन्डियन प्रिमियर लिग (आईपीएल)। आईपीएलको १३ औं संस्कर....

आईपीएलको ड्राफ्टमै किन पर्दैनन् नेपाली क्रिकेटर ?

काठमाडौं, पुस ४ : विश्व क्रिकेटको सर्वाधिक ठूलो र रोमाञ्चक टी–२० फ्रेन्चाइज प्रतियोगिता हो, इन्डियन प्रिमियर लिग (आईपीएल)। आईपीएलको १३ औं संस्करणका लागि बिहीबार कोलकत्तामा अक्सन भएको छ। तर, कुनै पनि नेपाली खेलाडी अक्सन लिस्टमै अटाएनन्।

यस पटक विभिन्न देशका तीन सय ३८ खेलाडी अक्सन लिस्टमा रहेका थिए। पाँच घण्टा चलेको अक्सनमा ७३ खेलाडीका लागि लिलामी भयो। जसमा अष्ट्रेलियाका प्याट कमिन्सलाई सर्वाधिक साढे १५ करोड भारतीय रुपैयाँमा कोलकत्ता नाइट राइडर्सले खरिद गर्दा अष्ट्रेलियाकाकै ग्लेन म्याक्सवेलले पञ्जाबका लागि १० करोड ७५ लाख भारतीय रुपैयाँ पाए।

दुवै खेलाडीको बेस प्राइस दुई करोड रहेको थियो। त्यस्तै दक्षिण अफ्रिकाका क्रिस मोरिसलाई रोयल च्यालेन्जर्स बैंगलोरले १० करोड भारतीय रुपैयाँको बोली लगायो।
अक्सनमा पियुष चावला जारी संस्करणमा सर्वाधिक मँहगा भारतीय खेलाडी बने। उनले ६ करोड ७५ लाख भारतीय रुपैयाँ प्राप्त गरे।

सबैभन्दा बढी उमेरका खेलाडीका रुपमा कोलकत्ताले प्रविण ताम्बोलाई ४८ वर्षको उमेरमा खरिद गर्‍यो । तर, सबैभन्दा कम उमेरका खेलाडी अफगानिस्तानका १५ वर्षीय नुर अहमद अनसोल्ड गए।

विकेट लिएपछि आर्मी सलोटले चर्चित रहेका वेष्ट इन्डिजका तीब्र गतिका बलर सेल्डन काटरेलमा धेरै टिमको रुचि देखियो। ५० लाख बेस प्राइस रहेका उनी पञ्जाबमा आठ करोड पाँच लाख भारतीय रुपैयाँमा अनुबन्ध भए। जुन उनको बेस प्राइसभन्दा १७ गुणा बढी हो।

अटाएनन् नेपाली खेलाडी

७३ खेलाडीका लागि विश्वभरबाट तीन सय ३८ खेलाडी ड्राफ्टमा रहँदा नेपालका कुनै पनि खेलाडी आईपीएल ड्राफ्टमा अटाएनन्। ड्राफ्टमै नपर्नु र अनसोल्ड हुनु फरक कुरा हो। आखिर किन नेपाली खेलाडी आईपीएलको ड्राफ्टमै पर्दैनन् ? नेपाली टिमका प्रशिक्षक जगत टमाटा दुई-तीन खेलाडी अक्सन लिस्टमा पर्नु पर्ने मत राख्छन्।

प्रशिक्षक टमाटा भन्छन्, ‘आईपीएलको अक्सन लिष्टमा दुई–तीन जना खेलाडीले उनीहरुको क्राइट एरिया मिट गर्ने क्षमता राख्छन्। अझ प्रदर्शन पनि उच्च छ। तर, हाम्रो एजेन्टसँगको सम्बन्ध कमजोर छ।’

प्रशिक्षक टमाटा आईपीएल विश्व क्रिकेटका सबै हस्तीको पहिलो रोजाइ भएको गन्तव्य भएकाले अवसर पाउनु टेष्ट देशकै खेलाडीका लागि समेत ठूलो चनौती मान्छन्। उनी भन्छन्, ‘ठूलो पैसाको खेल भएको ठाउँ हो, त्यहाँ जाने भनेको एजेन्टमार्फत नै हो। त्यसमा पनि उनीहरुको पहिलो रोजाइ टेष्ट प्लेइङ नेशनमै पर्छ।’

उनी ड्राफ्टमा नपर्नुमा भने नेपालको एन्जेन्टसँगको कमजोर सम्बन्ध रहेको मान्छन्। ‘आईपीएल क्रिकेटको सर्वाधिक ठूलो प्लेट फर्म हो, त्यसैले अक्सनमा छनोट हुनु नहुनु पछिको कुरा हो। पहिले एजेन्टसँग राम्रो सम्बन्ध बनाएर खेलाडीलाई ड्राफ्टमा राख्नु पर्छ। त्यसका लागि ठूला एजेन्टसँगको राम्रो सम्बन्ध हुन आवश्यक पर्छ। जसमा हामी चुकेका छौं,’ उनी भन्छन्।

सन्दीप एक्लो खेलाडी

सन्दीप लामिछाने सन् २०१८ का लागि आईपीएल ड्राफ्टमा परे। सन्दीपको भाग्य ड्राफ्टमा नै सीमित रहेन। उनी तत्कालीन दिल्ली डेयर डेभिल्समा २० लाख बेस प्राइसमा आबद्ध भएका थिए। सन्दीपको आईपीएल यात्रामा अष्ट्रेलियन स्टार माइकल क्लार्कको महत्वपूर्ण भूमिका छ। उनकै पहलमा सन्दीपले आईपीएल ड्राफ्टमा स्थान बनाएका थिए।

प्रतिभावान सन्दीपले जति अवसर पाए, त्यसमा कुनै गल्ती गरेनन्। पहिलो संस्करणमा अन्तिम तीन खेलमा मौका पाएका सन्दीपले पाँच विकेट लिएर सनसनी मच्चाए।

दोस्रो संस्करणमा नाम परिवर्तन गरेर दिल्ली क्यापिटलबाट उनले ६ खेलमा आठ विकेट लिए। अहिले तेस्रो संस्करणका लागि पनि उनी दिल्लीमै छन्। उनलाई दिल्लीले रिलिज गरेको छैन। अहिले उनी विश्वमै सर्वाधिक अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेल्ने खेलाडीको शीर्ष स्थानमा पर्छन्।

प्रकाशित मिति: ११:०८ बजे, शुक्रबार, पुस ४, २०७६