हुम्लामा झडप : सहायक मतदान अधिकृत र सेनाका हुद्दा घाइते, १७ राउण्ड हवाई फायर
काठमाडौं, मंसिर ४ : हुम्लाको सर्केगाड गाउँपालिका वडा–२ स्थित देवकोटा आधारभुत विद्यालय उनापानी मतदानस्थलमा झडप हुँदा सहायक मतदान अधिकृत र नेपाली सेनाका हुद्दा घाइते भएका छन् ।
वारेशनामाको विवादका कारण सत्ता गठबन्धनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारका कार्यकर्ताबीच भएको झडपमा परी सहायक मतदान अधिकृत प्रेम भण्डारी र सेनाका हुद्दा अर्जुन उपरकोटी घाइते भएका हुन् ।
वारेशनामाका विषयमा दुई उम्मेदवारका कार्यकर्ताबीच झडप भएपछि स्थितिलाई लिन प्रहरीले १७ राउन्ड हवाई फायर गरेको छ । झडपपछि मतदान स्थगित भएको थियो ।
त्यसपछि बसेको सर्बदलीय बैठकमा पुनः मतदान थाल्ने सहमति भएको थियो । तर फेरि एक दर्जन बढी व्यक्तिहरुले मतदान केन्द्र बाहिर ढुंगामुढा गरेपछि तनाव सुरु भएको थियो । त्यसपछि प्रहरी निरीक्षक पुष्पराज रोकायले पेस्तोलबाट एक राउण्ड र थ्री नट थ्री राइफलबाट ७ गरी ८ राउण्ड फायर गरेका थिए।