Kathmandu Press

चितवनमा तीन स्थानमा मतगणना गरिने

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं २ को गणनाका लागि चितवन उद्योग सङ्घको हलमा गणनास्थल तयार गरिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १० सिसीटिभी, मनिटर र फलामे बारसहितको जाली लगाइएको बताए ।
चितवनमा तीन स्थानमा मतगणना गरिने

काठमाडौं, मंसिर ४ : चितवनमा तीन स्थानबाट मतगणना गरिने भएको छ । तीन निर्वाचन क्षेत्रमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाको तयारी गरिएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको भरतपुरमा निर्वाचन क्षेत्र नं २ को गणनाका लागि चितवन उद्योग सङ्घको हलमा गणनास्थल तयार गरिएको छ । मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले मतगणनास्थलमा १० सिसीटिभी, मनिटर र फलामे बारसहितको जाली लगाइएको बताए ।

यहाँ चार ठाउँबाट गणनाको काम थालिने उनले जानकारी दिए । दुई ठाउँबाट प्रतिनिधिसभा र दुई ठाउँमा प्रदेश क्षेत्र (१) र (२) को प्रत्यक्षको मतगणना गर्ने थापाले बताए । अन्य निर्वाचन क्षेत्रमा पनि सोहीअनुसारको गणनाको योजना बनाइएको उनको भनाइ छ । 

मतगणनास्थलमा सुरक्षा व्यवस्था कडा गर्ने गरी तारजाली र सिसीटिभी क्यामरा जडानको काम गरिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिए । यहाँ विसं २०७४ को स्थानीय तहको निर्वाचनअन्तर्गत भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएपछि देशैभरि मतगणनास्थलमा तारजाली लगाउन थालिएको छ । 

चितवन क्षेत्र नं १ को खैहरनी माविमा मतगणना गर्ने तयारी गरिएको छ । त्यहाँ चार ठाउँमा मतगणनाका लागि तयारी गरिएको छ । यस्तै चितवन क्षेत्र नं ३ को कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा मतगणनाको तयारी गरिएको छ । यहाँ दुई ठाउँमा मतगणना गर्ने गरी संरचना निर्माण गरिएको छ । मुख्य निर्वाचन अधिकृत थापाले तीन दिनभित्र प्रत्यक्षतर्फको गणनाको काम सक्ने लक्ष्य राखिएको बताए ।
 

प्रकाशित मिति: ०७:१२ बजे, आइतबार, मंसिर ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्