होटल याक एण्ड यती १० महिनादेखि बिना इजाजत सञ्चालनमा
काठमाडौं, पुस ३ : काठमाडौंको मुटुमा रहेको पाँच तारे होटल याक एण्ड यती इजाजत पत्रबिनै सञ्चालन भइरहेको छ।
सरकारलाई तिर्नुपर्ने बक्य....
काठमाडौं, पुस ३ : काठमाडौंको मुटुमा रहेको पाँच तारे होटल याक एण्ड यती इजाजत पत्रबिनै सञ्चालन भइरहेको छ।
सरकारलाई तिर्नुपर्ने बक्यौता रकम नतिरेको भन्दै विगत १० महिनादेखि होटल सञ्चालनको अनुमतिपत्र नविकरण भएको छैन। तर अनुमतिपत्र नविकरण नभएपनि उक्त होटल सञ्चालनमा छ। सरकारले अनुमति पत्र नविकरण नगरेपनि अधिकांश सरकारी कार्यक्रम भने सोही होटलमा हुने गरेका छन्।
पाँच तारे होटलको अनुमति पत्र नविकरण गर्ने पर्यटन विभागले भने नविकरणका लागि होटल सञ्चालकलाई पटक–पटक मौखिक र लिखित ताकेता गरेको छ। तर बक्यौता रकम तिर्न अस्वीकार गर्दै होटल व्यवस्थापनले सरकारी ताकेताको बेवास्ता गर्दै आएको छ।
‘होटलमा सञ्चालन भएको क्यासिनोको बक्यौता रकम तिर्न धेरै पटक ताकेता गर्दा पनि व्यवस्थापनले सुनुवाइ गरेन,’ पर्यटन विभागका महानिर्देशक डन्डुराज घिमिरेले काठमाडौं प्रेससँग भने, ‘सरकारलाई तिर्नुपर्ने रोयल्टीबापतको रकम नतिरेपछि नविकरणविनै विगत १० महिनादेखि होटल सञ्चालन हुँदै आएको छ।’
उक्त होटलको इजाजत पत्र गत फागुन १८ गते नै सकिएको छ। होटलहरुले प्रत्येक पाँच-पाचँ वर्षमा पर्यटन विभागसँग अनुमति पत्र नविकरण गर्नुपर्ने हुन्छ।
होटल व्यवसायी राधेश्याम सर्राफले सञ्चालन गरेको होटल याक एन्ड यतिमा रहेको क्यासिनो रोयलले सरकारलाई ११ करोड ८७ लाख ५० हजार रुपैयाँ बुझाउन बाँकी छ।
विभागले गत मंसिर १६ गते मात्रै पनि होलटका सञ्चालक सर्राफलाई पत्र पठाएर बक्यौता रकम चुक्ता गरेर होटलको इजाजत पत्र नविकरण गर्न आग्रह गरेका छन्। ‘लिखित र मौखिक ताकेत जति गरेपनि होटल व्यवस्थापनले कुनै वास्ता गरेको छैन,’ घिमिरेले भने।
याक एण्ड यति होटलले इजाजत पत्र नविकरण नभएपनि विदेशी कामदार सिफारिस, विदेशी मुद्रा कारोबार जस्ता कार्य गर्न रोक्न सक्ने अधिकार विभागलाई छ। तर राजनीतिक दबाबमा होटलले विदेशी मुद्रा कारोबार लगायतका अनुमति लिइसकेको छ।
‘माथिको दबाब र भ्रमण वर्ष भएकाले विदेशी मुद्रा कारोबार हामीले खुला गरेका छौँ,’ विभागका एक अधिकृतले भने।






