Kathmandu Press

डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ।
डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

डडेल्धुरा, मंसिर ३ : प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ। जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ।

‘तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौं’, उनले भने, ‘मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्षा दिइरहेका छन्।’

प्रजिअ जोशीका अनुसार निर्वाचनका बेला मोबाइल टोली पनि परिचालन गनेछ भने ‘रिजर्भ टिम’ पनि तयार पारिएको छ। ‘रिजर्भ टिम आवश्यकताअनुसार मात्रै परिचालन हुनेछ’, उनले भने।

डडेल्धुरामा एक सय एक मतदानस्थल छन्। जसमध्ये २३ वटा अति संवेदनशील, ४१ संवेदनशील र ३७ सामान्यमा वर्गीकरण गरिएको छ।

मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री र सुरक्षाकर्मीसहित कर्मचारी पुगिसकेका छन्।

‘कर्मचारी मतदान केन्द्रमा पुगेर सर्वदलीय बैठक पनि भइसकेको छ’, उनले भने, ‘बुथ निर्माणको कार्य पनि सुरु भइसकेको छ । भोलिसम्म सबै तयारी सकिन्छ।’

एउटा मतदान केन्द्रमा म्यादी प्रहरीसहित सात देखि १२ जना सुरक्षाकर्मी र आठजना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

डडेल्धुरामा प्रतिनिधिसभातर्फ प्रधानमन्त्री देउवासहित आठजना उम्मेदवार छन्। यस्तै दुई प्रदेशसभा सदस्यका लागि १२ जना उम्मेदवार छन्।

 

प्रकाशित मिति: १२:१७ बजे, शनिबार, मंसिर ३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्