उदयपुरमा जीप दुर्घटना, तीनको मृत्यु, पाँच घाइते
उदयपुर, पुस ३ : उदयपुरगढी गाउँपालिका–३ तामडाँडमा बिहीबार बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

उदयपुर, पुस ३ : उदयपुरगढी गाउँपालिका–३ तामडाँडमा बिहीबार बिहान जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका अनुसार, उदयपुरगढीबाट कटारी जाँदै गरेको भारतीय नम्बर प्लेटको एस के ०१ पीबी ३०६८ नम्बरको जीप तामडाँडमा दुर्घटना भएको हो।
दुर्घटनामा परि उदयपुरगढी–३ का ६० वर्षीय टिकनारायण श्रेष्ठ, ५० वर्षीय ढकबहादुर इस्माली मगर र ३६ वर्षीय मिननारायण श्रेष्ठको मृत्यु भएको छ। उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए।
दुर्घटनामा पाँच जना घाइते भएका छन्। उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्थानीय वासिन्दाले बताएका छन्। घाइतेलाई उपचारका लागि विराटनगर लगिएको छ।
भारतमा बसोबास गर्ने उनीहरु आफन्त भेटेर फर्किँदै गरेका थिए। मृतक तीनै जना भने पोखरा जानका लागि कटारीसम्म जीपमा चढेका थिए। तीनै जना मजदुर रहेको जनाएको छ।
प्रहरी उपरीक्षक बुढामगरले प्रहरी टोली घटनास्थलतर्फ पठाएको बताए। घटनास्थल सदरमुकाम गाईघाटदेखि ७० किलामिटर टाढा रहेको छ।











