यी हुन् रिस नियन्त्रण गर्ने पाँच तरिका
काठमाडाैं, पुस ३ : सवारी साधन चलाउने बेला कसैले ओवरटेक गर्यो भने के तपाईँलाई रिस उठ्छ? सहकर्मीले सहयोग गरेन भने पनि के तपाईँको ब्लड प्रेशर ....

काठमाडाैं, पुस ३ : सवारी साधन चलाउने बेला कसैले ओवरटेक गर्यो भने के तपाईँलाई रिस उठ्छ? सहकर्मीले सहयोग गरेन भने पनि के तपाईँको ब्लड प्रेशर उच्च हुन्छ? घरमा भनेकोजस्तो भएन भने कनसिरी तातेर आउँछ?
रिस उठ्नु सामान्य कुरा हो। यस्तो सबैलाई हुन्छ। तर, आवश्यक कुरा के हो भने रिसबाट तपाईँ सकारात्मक तरिकाले उम्कनुपर्छ। किनकि, अनियन्त्रित रिसले तपाईँको सम्बन्धमात्र बिगार्दैन, यसले तपाईँको मानसिक र शारीरिक स्वास्थ्यमा पनि नराम्रो असर गर्नसक्छ।
अनियन्त्रित रिसले कैयौँपटक तपाईँलाई यस्ता कुरा बोल्न र गराउन बाध्य पार्छ कि जसले पछि पछुतो हुन्छ। यदि तपाईँ पनि रिसको शिकार हुने गर्नुभएको छ भने यहाँ पाँचवटा कुरामा ध्यान दिनुस्।
चुप बस्ने
कहिलेकाहीँ रिसले तपाईँलाई यस्तो बोल्न वा गर्न वाध्य पारिदिन्छ कि जुन तपाईँले सोचेकै हुँदैन। जुन पछि पछुतोको कारण बन्नसक्छ।
त्यसैले जब तपाईँलाई रिस उठ्छ त्यतिबेला तपाईँ मौन बस्ने कोशिश गर्नुस। केही नबोलेर आफूलाई शान्त राख्न समय दिनुस। यसो गर्दा ५ देखि १० मिनेटमा तपाईँको रिस शान्त भएको हुनेछ।
गिन्ती गर्ने
रिस उठ्न थाल्यो भने १० सम्म गिन्ती सुरु गर्नुस। यदि तपाईँ कुनै विषयलाई लिएर निकै रिसाएको अवस्थामा हुनुहुन्छ भने तपाईँ १०० सम्म गिन्ती गर्नुस। जति समय तपाईँलाई १०० सम्म गन्ती गर्न लाग्नेछ त्यतिबेलासम्म तपाईँको रिस शान्त भइसकेको हुनेछ।
यताउता हिँड्ने
कसरतले मान्छेको नशालाई शान्त गर्छ। यसले रिस कम गर्न पनि सघाउँछ। जब तपाईँलाई रिस उठ्छ, त्यतिबेला तपाई यताउता हिँड्ने गर्नुस।
सकिन्छ भने जिम गर्नुस। या कतै बसेर मन परेको गीतमा केही बेर नाच्नुस। यसो गर्दा तपाईँको दिल र दिमाग शान्त भएको हुनेछ।
लामो सास फेर्ने
तपाईँलाई रिस उठेको अवस्था तपाईँको सास छिटो छिटो चलिरहेको हुन्छ। यस्तो अवस्थामा रिस कम गर्नका लागि तपाई आफ्नो नाकबाट विस्तारै लामो सास लिनुस।
त्यसलाई विस्तारै मुखबाट छोड्नुस। यो क्रम एक मिनेटसम्म गर्नुस तपाईँको रिस कम भएर जानेछ।
रिसबारे भन्ने
कहिलेकाहीँ आफुले महसुस गरेको कुरा भन्नु पनि उपयुक्त हुन्छ। तर, त्यसबेलासम्म तपाईँले आफ्नो रिस काबुमा राखेको अवस्था हुनुपर्छ।
रिसले भड्कनु कुनै समस्याको समाधान होइन। तर, परिपक्व तरिकाले कुराकानी, छलफल गर्नाले तपाईँको रिस र तनाव दुवै कम गर्नमा मद्दत पुग्छ।











