Kathmandu Press

'मैले देश फर्केर बिराएछु कि जस्तो पनि लाग्छ'

'मैले देश फर्केर बिराएछु कि जस्तो पनि लाग्छ'

चितवन, मंसिर १ : नेपाल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विवाद झिकेर अाफूलाई चक्रब्यूहमा फसाउन खोजेको बताएका छन। चितवनको नारायणी किनारमा बिहीबार आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै लामिछानेले आफू कुनै दिन जीवित रहेको प्रमाण पनि पेस गर्न लगाउन सक्ने बताएका छन।

'मलाई जिउँदो छस् भनेर प्रमाणित गर् भनिने छ र म त्यसको प्रमाण जुटाउन कुनै वडामा सिफारिस प्राप्त गर्नका लागि दस्तुर बुझाएको हुनेछु,' उनले भने, 'अब मसँग आफ्ना लागि भन्नुपर्ने केही पनि बाँकी छैन । म विवादसँग डराउने मानिस होइन । मलाई त देशै निकाल्न खोजेका मान्छेहरु पनि थिए । तर आज तिनीहरु कहाँ छन् मलाई थाह छैन । म हरेक नागरिकको घरमा सुखदु:खमा साथै छु ।'

उनले भने,'मलाई पटक-पटक म हुनुको प्रमाण मागिन्छ । मलाई प्रश्नहरुको घेरामा राखिन्छ । मलाई पटक-पटक शंकाको घेरामा राखिन्छ,' उनले भने, 'विदेशको सुविधा छोडेर नगन्य व्यक्तिहरुमात्रै देश फर्केर आएका छन् । मैले देश फर्केर बिराएछु कि जस्तो पनि लाग्छ ।'
 
उनले चितवनले व्यक्तिलाई मात्रै नभएर देशलाई नै न्याय गर्नेमा आफूलाई विश्वास रहेको बताएका छन। 'म सधैं चक्रब्यूहमा रहने गरेको छु । सञ्चारकर्ममा रहँदा पनि मलाई सधैं घेराबन्दीमा पारिन्थ्यो । मैले जसोतसो तपाईंको मायाले सद्‍भावले ती घेराहरु तोड्न सफल भएको थिएँ,' उनले भने, 'म अहिले पनि यस्तो चक्रब्यूहमा छु, त्यो चक्रब्यूहबाट तपाईंहरुले घण्टी चिह्नमा मतदान गरेरमात्रै सम्भव हुनेछ ।'

उनले केही पनि नगर्नेले केही गर्छु भन्नेसँग सधैं जवाफ खोज्ने गरेको बताउँदै आफूलाई केवल जनताको मतले मात्रै जोगाउन सक्ने बताए ।

उनले नेपाली नागरिकको दु:खलाई सम्बोधन गर्नकै लागि यो अभियान सुरु गरेको बताउँदै मंसिर ४ मा घण्टी चिह्नलाई मतदान गरी सहयोग गर्न आग्रह गरे । उनले आफ्नो पार्टीले चुनाव नजिते देश फेरि पनि भ्रष्टाचार र बेथितिको जालोमा पर्ने दाबीसमेत गरे ।

प्रकाशित मिति: १८:५२ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्