Kathmandu Press

मंसिर ४ को निर्वाचन प्रतिगमनलाई पराजित गर्ने राम्रो अवसर हो : प्रचण्ड 

मंसिर ४ को निर्वाचन प्रतिगमनलाई पराजित गर्ने राम्रो अवसर हो : प्रचण्ड 

काठमाडौं, मंसिर १ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनलाई पराजित गर्ने अवसरका रुपमा यही मङ्सिर ४ गतेको निर्वाचनलाई लिन नेपाली जनतालाई आग्रह गरेका छन् । 

वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ क्षेत्र नं २ ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले ७० वर्ष सङ्घर्ष गरेर प्राप्त गरेको अधिकार खोसेर प्रतिगमन गर्न खोज्नेलाई निर्वाचनमार्फत पराजित गर्नुपर्ने बताए। 

 झण्डै दुई तिहाइ जनमत प्राप्त गरेको तत्कालीन नेकपालाई ओलीले टुक्राटुक्रा पारेको र  जनप्रतिनिधिमूलक संस्थालाई असंवैधानिकरुपमा पटकपटक विघटन गरेको प्रचण्डले बताए। 

उनले भने, ‘संविधान च्यात्नका लागि भोट माग्नुभएको हो ? भनेर अध्यक्ष ओलीलाई सोध्नुपर्छ । भ्रष्टाचार गर्नका लागि वा अरु केहीका लागि भनेर नेपाली जनताले सोध्नुपर्छ।’ नेपालमा समावेशीता, समानुपातिक प्रतिनिधित्व हुनहुन्न । गणतन्त्र हुनहुन्न र नेपाली जनतालाई अधिकार दिनहुन्न भन्ने सोच राख्नेलाई नेपाली जनताले मत  दिन नहुने उनको भनाइ थियो ।

नेपाली कांग्रेस र वामपन्थी शक्तिबीचको साझा सहकार्यबाटै नेपालमा राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै उनले संविधानको रक्षा, आर्थिक विकासका लागि गरिएको गठबन्धनलाई पूर्णरुपमा सफल बनाउनुपर्ने बताए। 

उनले काठमाडौँ निर्वाचन क्षेत्र नं २ का मतदाताको आकाङ्क्षालाई समेटेर तयार गरिएको कार्ययोजनालाई आफ्नोतर्फबाट पूरा गराउन पूर्णरुपमा लागिपर्ने धारणा राखे । 
 

प्रकाशित मिति: १७:५७ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्