Kathmandu Press

महेश बस्नेत भर्सेस् दुर्लभ थापा : उस्तै प्रतिस्पर्धी, उति नै चुनौती 

भक्तपुर–१ मा गठबन्धनलाई नेमकिपाका प्रेम सुवाल बलियो चुनौती
महेश बस्नेत भर्सेस् दुर्लभ थापा : उस्तै प्रतिस्पर्धी, उति नै चुनौती 

काठमाडौं, मंसिर १ : भक्तपुर–२ नेपाल मजदुर किसान पार्टी (नेमकिपा)र नेपाली कांग्रेसको किल्ला रहँदै आएको क्षेत्र हो। ०४८ पछि पटकपटक भएकाे निर्वाचनमा यहाँ कांग्रेस र नेमकिपाले पालैपालो जित्दै आएका छन्।

यस क्षेत्रमा ०४८ मा कांग्रेस, ०५१ मा नेमकिपा, ०५६ मा कांग्रेस, ०६४ मा नेमकिपा र ७० मा फेरि कांग्रेस विजयी भएको थियो। ०७४ मा  वाम गठबन्धनको लाभ लिँदै एमालेका महेश बस्नेतले कांग्रेस र नेमकिपाको विजयी सिलसिला तोडे। 

०७४ को निर्वाचनमा एमाले उम्मेदवार बस्नेतलाई माओवादी केन्द्रको पनि समर्थन थियो। त्यतिबेला स–साना कम्युनिस्ट पार्टीले माओवादीसँग एकता गरेका थिए। बस्नेतलाई पनि त्यसको लाभ मिलेमछि कांग्रेस उम्मेदवार दमननाथ ढुंगाना करिब १० हजार मतान्तर ( बस्नेतः ३६,४१२, ढुंगाना : १८, ६८७) ले पराजित भएका थिए। 

Hardik ivf

बदलिएको राजनीतिक गठजोडबीच बस्नेत पुनः यही क्षेत्रबाट उम्मेदवार छन्। बस्नेत अहिले ०७४ मा जस्तो सहज परिस्थितिमा छैनन्। एमालेबाट फुटेको एकीकृत समाजवादी र अघिल्लो निर्वाचनकाे सहयात्री माओवादी केन्द्र अहिले कांग्रेससँगको गठबन्धनमा छन्। 

अर्कोतिर कांग्रेसले बस्नेतसँग प्रतिस्पर्धा गर्न जिल्ला सभापति दुर्लभ थापालाई मैदानमा उतारेको छ। बस्नेत र थापाले करिबकरिब एकै समयमा राजनीतिक थालेका हुन्। दुबैजनाको स्वभाव र पार्टीभित्रको हैसियत करिबकरिब मिल्छ  । हक्की स्वभावका दुबै उम्मेदवार ५५ वर्षमुनिका हुन्। बस्नेत एमाले अध्यक्ष केपी ओली निकट मानिन्छन् भने थापा कांग्रेस सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। त्यसकारण व्यक्तिगत हिसाबमा पनि थापा बस्नेतलाई टक्कर दिन सक्ने उम्मेदवार हुन्। 

माओवादी केन्द्र र एकीकृत समाजवादीको मत पनि आफ्नो पोल्टामा पर्ने भएपछि तुलनात्मक रुपमा थापा सहज अवस्थामा छन्। तर, भक्तपुरका मतदातामाझ थापाको भन्दा बस्नेतको लोकप्रियता बढी भएको र पूर्वमन्त्री समेत रहेका कारण जनताले उनलाई पुनः एकपटक मौका दिने आकलन छ। बस्नेत आफैले भक्तपुरमा उल्लेखनीय विकास गरेको दाबी गर्दै आएका छन्। 

तर, प्रतिनिधि सभा विघटनपछि ओलीलाई साथ दिन बस्नेतले गरेका विवादास्पद कामका कारण मतदाताहरु रुष्टिएको बताइन्छ। जनताले विकल्प खोजिरहेको समयमा दुई पटकसम्म कांग्रेस जिल्ला सभापति रहेका थापा उत्तम विकल्प हुनसक्ने आकलन छ। 

बस्नेत र थापाबीचको लडाईँमा नेमकिपाकी अनुराधा थापा मगरले पनि उम्मेदवारी दिएकी छन्।नेमकिपाको भक्तपुरमा राम्रो पकड भएका कारण अनुराधा थापागर पनि सम्भावना बोकेकी उम्मेदवार हुन् । उनी ०७० सालको संविधानसभा निर्वाचनमा नेमकिपाको समानुपातिक तर्फबाट सदस्य थिइन् ।

गठबन्धन, एमाले र नेमकिपाको लडाईँमा अन्य ससान दल र स्वतन्त्र उम्मेदवारहरु पनि मैदानमा छन्।  सम्भावना कम भएपनि उम्मेदवारका व्यक्तिगत पकेट क्षेत्रबाट ती उम्मेदवारहरुलाई मत जाँदा मुख्य प्रतिस्पर्धीले पाउने मतमा प्रभाव पार्नेछ। यहाँ दलका २५ र १५ स्वतन्त्र गरी ४० उम्मेदवार छन्। 

स्थानीय तहमा कांग्रेस बलियो 

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणाम अनुसार यस क्षेत्रमा कांग्रेस एक्लै बलियो देखिन्छ भने एमाले निकटतम प्रतिद्वन्द्वीका रुपमा उभिएको छ। यहाँका वडाहरुमा कांग्रेसले पाएको एकीकृत मत २५ हजार ७६४ छ भने एमालेका वडाध्यक्ष उम्मेदवारले पाएको एकीकृत मत २४ हजार २८५ छे। 

तेस्रो स्थानमा देखिएको नेमकिपाले  ४ हजार ९२५ मत पाउँदा राप्रपाले ४ हजार १७२ मत ल्याएको थियो। माअ‍ोवादी केन्द्र र एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले एक हजार हाराहारीमा मत ल्याएको थियो। 
गठबन्धनको भोट कांग्रेसका थापालाई जाने हुँदा उनको पक्षमा करिब २८ हजार मत रहेको देखिन्छ। स्थानीय निर्वाचनमा दलहरुले पाएको मत अहिले पनि पाएको खण्डमा थापालाई सहज रहेको आकलन गर्न सकिन्छ। 

तर, झापा, रुपन्देही, बाँके लगायतका जिल्लामा एमालेसँग तालमेल गरेको राप्रपाले बस्नेतलाई पनि साथ दिए भने उनले जित्ने सम्भावना पनि त्यत्तिकै रहन्छ। यस हिसाबमा बस्नेत र थापाबीच नेक टु नेक प्रतिस्पर्धा हुने निश्चित देखिन्छ। 

भक्तपुर–१ मा सुवाल सुरक्षित 

भक्तपुर– १ नेमकिपाको आधार इलाका मानिन्छ। यहाँ ०४८ पछि भएका सबै निर्वाचनमा नेमकिपा विजयी हुँदै आएको छ। ०७० सम्म त अध्यक्ष नारायणमान विजुक्छेँ नै चुनाव लडिरहेका थिए। त्यसपछि बिजुक्छेँ संसदीय राजनीतिबाट बाहिरिएर ०७४ मा प्रेम सुवाललाई पार्टीको उम्मेदवार बनाए।

suwal1668685828.jpg

०७४ मा कांग्रेस उम्मेदवारलाई झन्डै दोब्बर मतान्तरले पराजित गर्दै सुवालले भक्तपुर–१ मा नेमकिपाको विरासत जोगाएका थिए। त्यतिबेला सुवालले ३३ हजार ७६ मत ल्याउँदा कांग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत ल्याएका थिए। तत्कालीन वाम गठबन्धनका मिलन सुवाल १५ हजार ३७४ मतमा सीमित भएका थिए। 

यसपालि पनि नेमकिपाले सुवाललाई नै उम्मेदवार बनाएको छ। संसदमा एक्लै भएपनि जनताको पक्षमा बोल्न नछाड्ने पहिचान बनाएका सुवाल यसपटक पनि राम्रै मतले जित्ने दाबी गर्छन्।  

उनीसँग प्रतिस्पर्धा गर्न सत्ता गठबन्धबाट माआवादी केन्द्रका उम्मेदवार सुुनिल गोठे र एमालेका नवराज गोले चुनावी मैदानमा छन्। गोठे कांग्रेससहितको मत लिएर भक्तपुर–१ मा माओवादीको झण्डा गाड्ने दाबी गर्छन्। एमालेका गोले भने भक्तपुरवासीले नयाँ अनुहार खोजेकाले आफ्नो सम्भावना रहेको बताउँदै आएका छन्। 

तर, वैशाखमा सम्पन्न स्थानीय चुनावमा यो क्षेत्रमा नेमकिपाले प्राप्त गरेको मत हेर्दा एमाले र सत्ता गठबन्धनले नेमकिपाका उम्मेदवारलाई टक्कर दिन नै चुनौती देखिएको छ। 

यस क्षेत्रमा भक्तपुर र चाँगुनारायण नगरपालिका पर्छन्। यहाँका १९ वडामध्ये  ११ वडा नेमकिपाले जितेको छ। भक्तपुरमा त नेमकिपाले क्लिन स्वीन नै गरेको छ। यहाँका १० वडा र नगरप्रमुख उपप्रमुखमा फराकिलो मतान्तरसहित नेमकिपाका उम्मेदवार विजयी भएका थिए। 

वडाध्यक्षका उम्मेदवारहरुले पाएको एकीकृत मतका आधारमा पनि नेमकिपा बलियो देखिएको छ। नेमकिपाले ३३ हजार ८९५ मत ल्याउँदा एमालेले १४ हजार ११९, कांग्रेसले १३ हजार १३, राप्रपाले ६ हजार २८६, माओवादी केन्द्रले १ हजार ३८८ मत ल्याएको थियो। यस हिसाबमा सुवाल अत्यन्त सहज अवस्थामा देखिन्छन्। 

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, मंसिर १, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्