निर्वाचनपछि एमाले नेतृत्वको सरकार बन्छ : अध्यक्ष ओली

सुनसरी,कात्तिक ३० : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गेका छन।
सुनसरीको कोसी गाउँपालिका– १ स्थित लौकहीमा आज निर्वाचन क्षेत्र नं ४ को नेकपा एमाले र जसपाको संयुक्त चुनावी आमसभा कार्यक्रममा उनले लोकतन्त्रलाई संस्थागत गर्न र स्थिर सरकार गठनका लागि एमालेलाई बहुमतका साथ मतदाताले जिताउने र त्यसपछि एमाले नेतृत्वको सरकार बन्ने बताए। देशको विकासको मिसन र भिजन एमालेसँग मात्रै भएकाले विकास र समृद्धिका पक्षमा जनताले मतदान गर्ने अध्यक्ष ओलीको भनाइ थियो।
देशको विकास गर्ने स्पष्ट खाका एमालेसँग मात्रै रहेकाले मतदाताले एमालेलाई जिताउनुपर्नेमा जोड दिँदै उनले निर्वाचनपछि आफ्नै नेतृत्वमा सरकार बन्ने उल्लेख गरे।
फरक प्रसङ्गमा ओलीले निर्वाचनपछि एमाले नेतृत्व सरकार बन्ने र आफूहरुको सरकारले एक महिनाभित्र नागरिकता समस्या समाधान गर्ने बताए। उनले अङ्गीकृत र जन्मसिद्ध नागरिकता पाएका नागरिकका सन्तानले वंशजको नागरिकता पाउने बताए।











