पञ्चेश्वर आयोजना अगाडि बढ्छ : प्रधानमन्त्री देउवा

बैतडी, कात्तिक ३० : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पञ्चेश्वर बहुउद्देश्यीय आयोजना अगाडि बढ्ने बताएका छन।
बैतडीको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजित सत्ता गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्दै उनले भने, 'पञ्चेश्वर आयोजना बन्छ, पञ्चेश्वर बनेमा यहाँको विकास हुन्छ । यसलाई अवश्य अगाडि बढाउँछौँ । पञ्चेश्वरलाई अगाडि बढाउन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीज्यू पनि सकारात्मक हुनुहुन्छ।'
यसका साथै उनले पाटन–पञ्चेश्वर सडकखण्ड छिट्टै कालोपत्र हुने बताए। बैतडीको तल्लोस्वराड क्षेत्रमा पहिलेभन्दा अहिले धेरै विकास भएको भन्दै उनले अझै अधुरा विकास निर्माणका कार्य अगाडि बढाइने स्पष्ट गरे। उनले भने, 'धर्मघाटमा पुल, पाटन–उग्रतारा–मेलौली सडकखण्ड निर्माणलगायतका बाँकी विकास निर्माणका कार्य अगाडि बढाउनेछौँ।'
बैतडी सहिद दशरथचन्द र द्वारीकादेवी ठकुरानीको जिल्ला रहेकाले यहाँ गठबन्धनले जित्नु आवश्यक रहेकामा प्रधानमन्त्री देउवाको जोड थियो। 'दशरथ चन्द जन्मेको र द्वारीकादेवी ठकुरानीको ठाउँमा आउँदा निकै खुसी छु', उनले भने, 'सहिद दशरथचन्द र द्वारीकादेवी ठकुरानीको जिल्ला रहेकाले यहाँ गठबन्धनका उम्मेदवारले जित्न आवश्यक छ।'
देश महत्वपूर्ण मोडमा उभिएकाले गठबन्धनलाई विजय गराउन आवश्यक रहेको प्रधानमन्त्री देउवाको भनाइ थियो । उनले भने, 'केपी ओलीले दुई पटक संसद् विघटन गरेकाले यो गठबन्धन बनेको हो । गठबन्धनका उम्मेदवारलाई जिताउनुस्, यो गठबन्धन १०/१५ वर्षसम्म जान्छ । गठबन्धन सरकार लामो सयमसम्म अगाडि बढे देश समृद्ध बन्नेछ, देशमा विकास हुनेछ।'
सोही सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसकी नेत्री आरजु राणा देउवाले देशको विकास र आर्थिक समृद्धिका लागि गठबन्धनलाई जिताउन आग्रह गरे।
प्रधानमन्त्री देउवा दोस्रोपटक बैतडी पुगेका हुन। यसअघि कात्तिक २३ गते पनि बैतडीको पाटनमा आयोजना गरिएको चुनावी सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा र पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गरेका थिए।
बैतडीमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) संयुक्त गठबन्धन गरेर चुनावी मैदानमा रहेका छन्। गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्युरो सदस्य नरेन्द्रबहादुर कुँवर (विजयसुन्दर) चुनावी मैदानमा रहेका छन। प्रदेश सभा (१) मा नेपाली कांग्रेसका वीरबहादुर विष्ट र प्रदेशसभा (२)मा नेपाली कांग्रेसका शिवराज भट्ट चुनावी मैदानमा छन।











