महिलाविरुद्ध हुने हिंसा अन्त्य मेरै कार्यकालमा: मन्त्री गुरूङ
काठमाडौं, पुस २ : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला, बालबालिका तथा जेष्ठ नागरिकका क्षेत्रमा आफूले सशक्त ढंगले क....

काठमाडौं, पुस २ : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले महिला, बालबालिका तथा जेष्ठ नागरिकका क्षेत्रमा आफूले सशक्त ढंगले काम गर्न कार्ययोजना बनाइरहेको बताएका छन्।
राष्ट्रिय महिला आयोग र सम्बद्ध निकायबाट लैंगिक हिंसाविरुद्ध गरिएका क्रियाकलापको जानकारी गराउने उद्देश्यले ललितपुरमा आयोजित अन्तक्रिया कार्यक्रममा मन्त्री गुरुङले सरकारले यसका लागि प्रचारात्मक कार्यक्रमभन्दा कानून कार्यान्वयनमा अघि बढ्ने बताए। मन्त्री गुरुङले महिला हिंसा अन्त्यका लागि सरोकारवाला संघसंस्था, सरकार र सञ्चारमाध्यमले एक–अर्कालाई दोषारोपण गर्न छाडेर हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिए।
आफूलाई महिला मन्त्रालयमा पुरुष मन्त्री आएको भनेर कटाक्ष गरिएकोप्रति असहमति प्रकट गर्दै उनले महिला, बालबालिका, तथा ज्येष्ठ नागरिकको हितका लागि कुनै कसर नरहने गरी काम गर्ने प्रतिबद्धता जनाए। मन्त्रालयको आगामी नीति तथा कार्यक्रम कस्तो बनाउने भनेर सरोकारवाला निकायसँग परामर्श सुरु गरिसकेको उनले जानकारी दिए।
सरकारले महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्ने एनजिओ तथा आइएनजिओमा रहेका बिज्ञहरुको प्रोफाइल बनाउने तयारी गरेको मन्त्री गुरुङले बताए।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव चन्द्र कुमार घिमिरेले महिला हिंसाविरुद्धको कानून कार्यान्वयनको सवालमा नेपालको उपलब्धी गर्व गर्न लायक रहेको बताए।
अधिवक्ता मीरा ढुंगानाले कानुनले सबैलाई समान व्यवहार गर्ने भनिए पनि व्यवहारमा त्यसो हुन नसकेकोले नवनियुक्त मन्त्रीले व्यवहारमै सबैलाई समान व्यवहार हुने वातावरण बनाउन सके मात्रै मन्त्रीको कार्यकाल सफल हुने उल्लेख गरिन्।
महिला कानून तथा विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले नेपालमा महिला तथा बालबालिकको क्षेत्रमा भएको प्रगतिबारे जानकारी गराएका थिए। उनले अन्य देशको तुलनामा नेपाल यस क्षेत्रमा अब्बल रहेको भन्दै अन्तर्राष्ट्रिय क्षेत्रले प्रशंसा गर्ने गरेको जानकारी दिए।











