Kathmandu Press

गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त 

कास्की–२ को प्रदेश (ख) मा कांग्रेस उम्मेदवार बिन्दुकुमार थापालाई हराउन भूमिका खेलेको आरोपमा मन्त्री खड्का बर्खास्तीमा परेका हुन् ।
गण्डकीका भौतिक पूर्वाधारमन्त्री कुमार खड्का बर्खास्त 

काठमाडौं, कात्तिक २९ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् । 

निर्वाचनमा पार्टी र गठबन्धनका उम्मेदवारलाई असहयोग गरेको भन्दै मुख्यमन्त्री पोखरेलले मन्त्री खड्कालाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री पोखरेलले खड्काले सम्हाल्दै आएको मन्त्रालय आफूमातहत राखेका छन् ।

प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्री पोखरेलको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मन्त्रिपरिषद् हेरफेर गरेको सूचना प्रकाशन गरेको छ । जसमा भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीले नै सम्हाल्ने उल्लेख छ। 

कास्की–२ को प्रदेश सभा (ख) को टिकटका लागि खड्का र प्रदेशका कानुनमन्त्री रहेका बिन्दुकुमार थापाबीच रस्साकस्सी चलेको थियो । अन्त्यमा थापाले टिकट पाएपछि खड्का असन्तुष्ट थिए । उनीमाथि आफ्नै पार्टीबाट उम्मेदवार रहेका थापालाई हराउन लागि परेको आरोप छ । 

गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले यसअघि प्रदेशका उर्जामन्त्री हरिशरण आचार्यलाई पनि बर्खास्त गरेका थिए । उनी गोरखामा गठबन्धनका उम्मेदवार तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा भोट मागेको आरोपमा बर्खास्तीमा परेका थिए। 
 

प्रकाशित मिति: १७:०५ बजे, मंगलबार, कात्तिक २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्