एमालेमा अब राजावादीहरु मात्रै बाँकी छन् : शाक्य

काभ्रे, कात्तिक २९ : नेकपा माओवादी केन्द्रका सचिव हितमान शाक्यले नेकपा एमालेभित्र राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै रहेको बताएका छन् ।
काभ्रेको पनौती नगरपालिकामा माओवादी केन्द्रको नगर कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले एमालेमा अब राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै बाँकी भएको बताएका हुन्।
‘कोही मान्छे भ्रममा होलान्, तर धेरै बुझिसकेका छन्, एमालेमा अहिले राजा आउ देश बचाउ भन्ने मान्छे मात्रै छन्’ उनले भने । माओवादी केन्द्र बागमती प्रदेशका इन्चार्ज समेत रहेका उनले एमाले अध्यक्ष केपी ओलीभित्र तानाशाही निरंकेश प्रवृत्ति भएको रहेको समेत औल्याए ।
‘ओलीजीसँग तानाशाही र निरंकुश प्रवृत्ति देखियो, उहाँले तानाशाही प्रवृत्ति देखाएकै कारण आजको अवस्था आएको हो’ उनले भने ।
उनले मुलुकलाई संकट पर्दा जहिल्यै पनि कांग्रेस माओवादी एक ठाउँमा उभिएको इतिहास स्मरण गराए। मुलुकको विकास र संविधानमा भएको परिवर्तित व्यवस्थाको रक्षाका लागि सबैले आआफ्नो गुनासालाई छाडेर गठबन्धनका उम्मेदवारको चिन्हमा मतदान गर्न आग्रह गरे ।
उनले अहिलेको निर्वाचनको प्रणाली मुलुकले धान्न नसक्ने खालका भएकाले यसबारे अब छलफल र बहस गर्नुपर्ने समेत बताए ।
कार्यक्रमलाई नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवं वाम लोकतान्त्रिक गठबन्धनका काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार सुर्यमान दोङ, क्षेत्र नं. २ का साझा उम्मेदवार शिव हुँमागाई लगायतले सम्बोधन गरेका थिए।











