Kathmandu Press

संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकासका लागि सत्ता गठबन्धनलाई मत दिन कांग्रेसको आग्रह

एमाले अध्यक्ष केपी ओलीको सरकारले स्थायित्व दिन नसकेपछि सत्तामा आएको कांग्रेस नेतृत्वको गठबन्धनले छोटो समयमा गरेका कामले पनि सत्तागठबन्धनले राम्रो मत ल्याउने उनले उल्लेख गरे।
संविधानको रक्षा र लोकतन्त्रको संस्थागत विकासका लागि सत्ता गठबन्धनलाई मत दिन कांग्रेसको आग्रह

काठमाडौं, कात्तिक २८ : नेपाली कांग्रेसले संविधानको रक्षा, लोकतन्त्रको संस्थागत विकास, रोजगारी र स्थायित्वका लागि सत्ता गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्ने जनाएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता डा. रामशरण महतले अघिल्लो प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई तिहाइ नजिक स्थान जितेको नेकपाले पाँच वर्षसम्म स्थायित्व नदिएकाले बताए । त्यसैले अब कांग्रेस नेतृत्वको गठबन्धनका पक्षमा जनता लागेको उनले बताए।

संविधानको रक्षा गरी यसमा सुधार र संशोधनका माध्यमबाट आगामी दिनमा अघि बढ्ने पनि उनले बताए।

‘गठबन्धनको नेतृत्व गरेको कांग्रेससहितका दल फराकिलो मतले विजयी हुन्छन्,’ उनले भने, ‘निर्वाचन आयोगले तय गरेको सीमामा रही हामीले प्रचारप्रसार अभियानलाई तीव्र बनाएका छौँ, मूलभूतरूपमा संविधानको रक्षा हाम्रो मुख्य उद्देश्य हो।’

एमाले अध्यक्ष केपी ओलीको सरकारले स्थायित्व दिन नसकेपछि सत्तामा आएको कांग्रेस नेतृत्वको गठबन्धनले छोटो समयमा गरेका कामले पनि सत्तागठबन्धनले राम्रो मत ल्याउने उनले उल्लेख गरे।

आगामी निर्वाचनमा प्रत्यक्ष जत्तिकै महत्वपूर्ण समानुपातिक पनि भएकाले सबै निर्वाचन क्षेत्रमा समानुपातिकको मत माग्न पार्टी संयन्त्र परिचालन गरिएको कांग्रेसले जनाएको छ।

२०७४ को निर्वाचनमा कांग्रेसले समानुपातिकमा ४० स्थानमा विजयी भएको बताउँदै प्रवक्ता महतले त्यसबेलाभन्दा बढी स्थान आउने गरी प्रचारप्रसारमा लाग्न सबै जिल्ला, निर्वाचन क्षेत्र, पालिका र वडा तहको पार्टी संयन्त्रलाई परिचालन गरिएको जनाए।

‘देशभरका ६१ क्षेत्रमा प्रत्यक्षतर्फ कांगे्रसका उम्मेदवार छैनन्, ती क्षेत्रमा प्रत्यक्षमा गठबन्धन दलका उम्मेदवार र समानुपातिकमा कांग्रेसको रुख चिह्नमा मतदान गर्न आह्वान गरेका छौँ,’ उनले भने, ‘उम्मेदवार नभएका क्षेत्रमा समानुपातिकतर्फ मतका लागि विशेषरूपमा प्रचारप्रसार गर्न पार्टी संयन्त्रलाई परिचालन गरिएको छ, प्रत्येक क्षेत्रमा समानुपातिकतर्फ दुईवटा मतपत्रमा अनिवार्यरूपमा रुखमा मतदान गर्न पार्टीका शुभेच्छुक एवं मतदातामा आग्रह गरेका छौं।’

देशलाई जोड्ने र सहिष्णु नेतृत्व आवश्यक परेकाले पनि कांग्रेस नेतृत्वको गठबन्धनले आगामी निर्वाचनमा धेरै स्थानमा जित्ने वातावरण बनेको विश्लेषण उनकोृ थियो । कांग्रेस नेतृत्वले पार्टीभित्रका सबैलाई मिलाएर गठबन्धनको नेतृत्व गरेको पार्टीले जनाएको छ ।

विपक्षी गठबन्धनको नेतृत्व गरेको एमालेले पार्टीभित्रकै नेतालाई मिलाउन नसकेको आरोप प्रवक्ता महतले लगाए।  

 प्रतिनिधिसभाका ९१ स्थानमा कांग्रेस र ७४ स्थानमा सत्ता गठबन्धन दलका उम्मेदवारलाई मत माग्न उनले देशभरका नेता, कार्यकर्तालाई आह्वान गरे। यस्तै प्रदेशसभातर्फ १७७ स्थानमा कांग्रेस र १५३ स्थानमा सत्ता गठबन्धनका अन्य उम्मेदवारलाई मत हाल्न पनि पार्टीले आह्वान गरेको छ।

 निर्वाचनपछि सत्तागठबन्धनको नेतृत्व स्वाभाविकरूपमा कांग्रेसले गर्ने उनले बताए। कांग्रेसभित्र पनि सरकारको नेतृत्व स्वाभाविकरूपमा पार्टी सभापतिसमेत रहनुभएका शेरबहादुर देउवाले गर्ने उनको भनाई थियो ।

 

प्रकाशित मिति: १९:४७ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्