Kathmandu Press

निर्वाचन आचारसंहिता कार्यान्वयन : ४८ दिनमा १४९ उजुरी, ११६ स्पष्टीकरण

दल र राजनीतिक दल तथा सम्बन्धित पक्ष आफैं सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा उल्लंघनका घटना देखिएका छन्।
निर्वाचन आचारसंहिता कार्यान्वयन : ४८ दिनमा १४९ उजुरी, ११६ स्पष्टीकरण

काठमाडौं, कात्तिक २८ : आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयनमा ल्याएको आज ४८ दिन भएको छ।

यो बीचमा आयोगमा आचारसंहिता उल्लंघनका डेढ सयबढी उजुरी परेका छन्। आयोगले गठन गरेको केन्द्रीय निर्वाचन अनुगमन समितिले केन्द्र र जिल्लास्तरमा संयन्त्र बनाई आचारसंहिताको कार्यान्वयन गर्दै आएको छ।

दल र राजनीतिक दल तथा सम्बन्धित पक्ष आफैं सचेत र संयमित भएकाले विगतका निर्वाचनको तुलनामा यस पटक कमै मात्रामा उल्लंघनका घटना देखिएका छन्।

गत असोज १२ गतेदेखि आचारसंहिता कार्यान्वयनमा आएको थियो भने कात्तिक १७ देखि मंसिर १ गतेसम्म दल र उम्मेदवारले आमसभा, कोणसभा, जुलुस र सञ्चारमाध्यमका माध्यमबाट प्रचारप्रसारका लागि निर्धारण गरेको थियो। मंसिर १ गते राति १२ बजेदेखि मतदानको दिनसम्म निर्वाचन प्रचारप्रसार निषेध (स्थिर अवधि) मानिनेछ ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन कडाइका साथ आचारसंहिता कार्यान्वयन गर्ने÷गराउने निर्णय गर्दै आएको र त्यसका अनुगमन नियमितरूपमा भइरहेको बताए। उनका अनुसार हालसम्म विभिन्न माध्यमबाट एक सय ४९ वटा उजुरी परेका आवश्यक चाँजबुझ गरी एक सय १६ वटा स्पष्टीकरण सोधिएको छ । जसमा नौवटा घटनामा कारबाही, सचेत र निर्देशनसमेत दिइएको छ।

केन्द्रीय निर्वाचन अनुगमन समितिका संयोजक भण्डारीले स्पष्टीकरण सोधिएकामध्ये ३५ वटा घटनामा निर्णयका लागि आवश्यक कागजात र फाइलहरू तयार भइसकेकाले चाँडै किनारा लगाइने बताए। यसबीचमा उक्त केन्द्रीय समितिको दुईवटा बैठक सम्पन्न भएको उनलेृ जनाए।

राजनीतिक दल तथा उम्मेदवारबाट हुन सक्ने निर्वाचन आचारसंहिता उल्लंघन तथा निर्वाचन खर्चको हदबमोजिम कार्यान्वयनका सम्बन्धमा आफ्ना स्थानीय संरचना परिचालन गरी सूक्ष्म अनुगमन गर्न र सोको विवरण आयोगमा उपलब्ध गराउन नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई निर्देशन दिइएको छ ।

यस्तै, आचारसंहिता विपरीत कार्य गर्ने सरकारी कर्मचारी, प्राध्यापक, शिक्षक तथा अन्य सम्बद्ध व्यक्तिलाई तत्काल विभागीय कारबाही गर्न सम्बन्धित कार्यालयका प्रमुखलाई निर्देशन दिइएको छ ।

जिल्ला आचारसंहिता अनुगमन समितिले आफैँ स्पष्टीकरण र कारबाही गरेका विवरणहरू भने आयोगले तयार गरिसकेको छैन ।

प्रकाशित मिति: १९:३६ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्