Kathmandu Press

नवलपरासी–२ मा पुरानै प्रतिस्पर्धा 

नवलपरासी–२ मा पुरानै प्रतिस्पर्धा 

काठमाडौं, कात्तिक २८ : आसन्न चुनावमा  पूर्वी नवलपरासी क्षेत्र नं २ मा पुरानै प्रतिस्पर्धी बीचमा प्रतिस्पर्धा हुने भएको छ । 

सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका विष्णुकुमार कार्की तथा नेकपा (एमाले)का तिलबहादुर महत क्षेत्रीबीच प्रतिस्पर्धा हुँदैछ। 

कांग्रेसका उम्मेदवार कार्की ३१ वर्ष लामो एमालेको विरासत भत्काएर नतिजा आफ्नो पक्षमा पार्ने दाउमा छन् भने एमालेका महत आफ्नो पुरानो विरासत जोगाउँदै दोस्रो पटक जितेर संसद् प्रवेश गर्ने दाउमा छन् । विसं २०४८ देखि सो क्षेत्रमा एमालेले निरन्तर सो क्षेत्रमा जित्दै आएको छ ।

विसं २०७४ को चुनावमा एमालेका महतले कांग्रेसका कार्कीलाई एक हजार तीन सय तीन मतान्तरले पराजित गर्नुभएको थियो । तत्कालीन समयमा महतले ३९ हजार ५३ मत प्राप्त गर्दा कार्कीले ३७ हजार सात सय २० मत प्राप्त गरेका थिए  अहिले सन्दर्भ बदलिएको छ । त्यस बेला महतलाई भोट हालेको नेकपा (माओवादी केन्द्र)ले यस पटक गठबन्धनका कार्कीलाई भोट हाल्नेछ भने एमालेफुटेर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) पनि कांग्रेसकै साथमा रहेको छ । 

पाँच वटा स्थानीय तह र ४०  वडा रहेको सो निर्वाचन क्षेत्रमा गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा एमालेले २२, कांग्रेसले १६ र  माओवादी केन्द्र र राप्रपाले एक÷एक वडा जितेका थिए भने स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरुले पाएको मतको हिसाब हेर्दा एमालेले ४२ हजार पाँच सय, कांग्रेसले ३८ हजार पाँच सय ८७, माओवादीले एक हजार सात सय ४२, राप्रपाले दुई हजार तीन सय ६५ मत प्राप्त गरेका छन् । 

सत्ता गठबन्धन, एमाले र राप्रपासहित अन्य स्वतन्त्र उम्मेदवार एक्लाएक्लै मैदानमा रहेकाले यो निर्वाचन क्षेत्रमा स्थानीय निर्वाचनपछि थपिएका नयाँ मतदाताको रुझान पनि आफ्नो पक्षमा रहेको जनाउँदै पहिलो पटक जित निकाल्ने कांग्रेसका कार्कीको दाबी रहेको छ भने विरासत जोगाएर दोस्रो पटक संसद्मा प्रवेश गर्ने दाउमा एमालेका महत रहेका छन् । कूल एक लाख २९ हजार दुई सय ८० मतदाता रहेको यो क्षेत्रमा सत्ता गठबन्धनका कार्की र एमाले उम्मेदवार महतबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ। 

प्रकाशित मिति: १०:४३ बजे, सोमबार, कात्तिक २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्