तापक्रम घट्न थालेपछि चिसो बढ्यो, आवश्यक सावधानी अपनाउनू
चिसो बढेकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ,” विभागले भनेको छ ।
काठमाडौं, कात्तिक २८ : केही दिनयता तापक्रम घट्न थालेपछि चिसो भने बढ्दै गएको छ । हिमाली भू–भागमा हिमपात सुरु भइसकेको छ । जसका कारण चिसो बढ्न थालेको हो ।
चिसो बढेकाले यसबाट बच्न आवश्यक सावधानी अपनाउनु पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउनुहुन अनुरोध छ,” विभागले भनेको छ । हिमपातका कारण पर्वतारोहणमा पनि अवरोध आउन सक्ने विभागको भनाइ छ । पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन विभागको आग्रह छ ।
यसैबीच, आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा बाँकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश–१, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।
आज राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले बताएको छ ।











