Kathmandu Press

कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौं, पुस २  : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। 

पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो १ बजेका ला....

कांग्रेस केन्द्रीय समिति बैठक शुक्रबारसम्मका लागि स्थगित
फाइल

काठमाडौं, पुस २  : नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ। 

पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको हो। अर्को बैठक शुक्रबार दिउँसो एक बजेका लागि बोलाइएको छ। 

१४ औं महाधिवेशनको कार्यतालिका नल्याएसम्म केन्द्रीय समितिको बैठकमा सहभागी नहुने भन्दै संस्थापन इतरको समूहले बैठक बहिष्कार गर्दै आएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले केन्द्रीय समिति बैठकमा महाधिवेशनको स्पष्ट कार्यतालिका ल्याउनु पर्ने, नेविसंघ, तरुण दल लगायतका भ्रातृ संगठनको नेतृत्व चयन लगायतका विषय प्याकेजमै सहमति खोज्नु पर्ने अडान राख्दै आएको छ। 

संस्थापन इतर समूहका नेताहरु बैठकमा सहभागी नहुने जानकारी आएपछि बैठक स्थगित गरिएको स्रोतले जनाएको छ। प्याकेजमै सहमति नभएसम्म बैठकमा उपस्थित हुन नसकिने भन्दै पौडेल पक्षधर नेताहरुले गत बिहीबारदेखि बैठक बहिष्कार गर्दै आएका छन्। 

शीर्ष तहमा संस्थापन र पौडेल पक्षधर नेताहरुबीच पटक पटक छलफल भएपनि ठोस सहमति जुट्न सकेको छैन। 

यसअघि गत बिहीबार संस्थापन इतरको समूहको बहिष्कारकाबीच बसेको केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले २८ बाट बढाएर ४१ विभाग गठन, भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)को नेतृत्व चयन, नेपाल तरुण दलको म्याद थप लगायत ९ वटा एजेन्डा पेश गरेका थिए।
 

प्रकाशित मिति: १५:४१ बजे, बुधबार, पुस २, २०७६