Kathmandu Press

‘भोट फर गगन थापा’ भन्दै हातमा प्लेटकार्ड बोकेर बाग्लुङका एक युवाले गरे ‘बन्जीजम्प’

‘भोट फर गगन थापा’ भन्दै हातमा प्लेटकार्ड बोकेर बाग्लुङका एक युवाले गरे ‘बन्जीजम्प’

कुस्मा, कात्तिक २७ : कुस्मा  नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नं. ४ मा प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउनु पर्ने सन्देश प्रवाह गर्दै बाग्लुङका एक युवाले बन्जीबाट हाम फालेका छन्।

विश्वको दोस्रो अग्लो बन्जीबाट बाग्लुङ – ४ नारायणस्थानका ३५ वर्षीय सुमन शर्माले ‘भोट फर गगन थापा’ भन्दै हातमा प्लेटकार्ड बोकेर हाम फालेका हुन्। कालीगण्डकी नदीमाथि दुई सय २८ मिटर उचाइबाट हाम फालेको कार्यक्रमका संयोजनकर्ता पवन आचार्यले जानकारी दिए।

शर्माले हाम फाल्ने क्रममा 'जेन जी, जेनेरेसन गगन, विइ आर जेनेरेसन गगन, अबको पालो गगनको' भन्ने सन्देश प्रवाह गरेका थिए। उनले हाम फालेको भिडियो सामाजिक सञ्जालमा राखिएको छ।

वर्तमान प्रधानमन्त्री तथा आफ्नै पार्टीका सभापति शेरबहादुर देउवासहितका शीर्ष र प्रभावशाली नेताहरुलाई चुनौती दिदै प्रधानमन्त्री बन्ने अठोट गर्नु आफैमा राजनीतिक सहास भएकाले सहासपूर्ण प्रयासको समर्थनमा आफूले बन्जी जम्प गरेको शर्माको भनाई छ।

प्रतिनिधि सभा निर्वाचन अगाडि प्रधानमन्त्रीको उम्मेदवारी घोषणा गर्दा शीर्ष नेताहरुले राजनीति नै समाप्त पारिदिने खतरा मोल्दै निर्वाचनमा होमिएर महामन्त्री थापाले राजनीतिक जोखिम लिएर आफूहरुलाई आशावादी र प्रोत्साहित गराएको शर्माले बताए।

महामन्त्री थापालाई नेपालको प्रधानमन्त्री बनाउनु पर्ने सन्देश प्रवाह गर्न यसअघि एसियाकै लामो भनेर दाबी गरिएको बाग्लुङ–पर्वत जोड्ने झोलुंगे पुल, पेरिसमा रहेको आइफल टावर, अस्ट्रेलिया, साइप्रसलगायत देशमा पनि युवाहरुले प्रदर्शन गरेका थिए।

प्रकाशित मिति: १८:३८ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्