Kathmandu Press

दलित बस्तीमा भोट तान्ने होडबाजी, नगद र जिन्सी लिएर गाउँ छिर्छन् उम्मेदवार

दलित बस्तीमा सुधार आउन शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य विकासमा आमूल परिर्वतन आउनुपर्ने भएकाले राजनीतिक दलले भोटका रुपमा मात्र नहेरी उनीहरुका समस्याप्रति पनि गम्भीर हुन जरुरी रहेको प्राध्यापक गुणनिधि शर्माको भनाइ छ।
दलित बस्तीमा भोट तान्ने होडबाजी, नगद र जिन्सी लिएर गाउँ छिर्छन् उम्मेदवार

गुल्मी, कात्तिक २७ : गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लाकी डल्ली विक ७१ वर्ष पुगिन् । उनी प्रत्येक निर्वाचनका  साक्षी हुन् । निर्वाचनका समयमा आफ्नो बस्तीमा लाग्ने भोजभतेरको अनुभव उनीसँग छ । वाग्लाको दलित बस्तीमा लाग्ने भोजभतेर कुनै मेलापर्व र उत्सव नभई निर्वाचनका लागि भोट तान्नका लागि भएको हो । 

भोट तान्ने होडबाजीले चामलको बोरा बाँड्ने र भोजभतेर गर्ने गरेको स्थानीयवासी डल्ली बिकले बताइन्।  ‘निर्वाचनका समयमा भोट तान्न हाम्रो बस्तीमा भोजभतेर लाग्छ अनि टाठाबाठाले चामलको बोरा पनि घर लैजान्छन्,’ उनले भनिन्, ‘हामी एक्लै भएकाहरूलाई त्यो पनि दिँदैनन्।’ उनका अनुसार यस बस्तीमा कसले नगद बढी दिने वा भोजभतेर लगाएर भोट भनेर पार्टीको होडबाजी चल्ने गर्दछ।

वाग्लाको सोही बस्तीका ४९ वर्षीय टेकबहादुर सुनार पनि स्थानीय नेता तथा कार्यकर्ताहरूले आफूहरू माथि दमन गरेको बताउँछन्। आफ्नो बस्तीलाई तल्लो वर्गका रूपमा हेरेर कुनै विकासे योजना नभई सामान्य नगद र जिन्सी बोकेर छिर्ने गरेको उनले गुनासो गरे।

‘अघिल्लो निर्वाचनमा प्रतिघर एक बोराका दरले चामल बाँडेर नेताहरू चुनाव जितेपछि फर्किएनन्,’ उनले भनृ, ‘हाम्रो बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावलाई माथिल्लो वर्गका केही व्यक्तिले फाइदा उठाइरहेका छन्।’ उनले राजनीतिक दलको दमनमा आफूहरू रहेको बताए ।

सोही बस्तीका ६४ वर्षीया झुवी विक एकल महिला हुन् । छोराबुहारी रोजगारीका लागि भारत गएपछि घरमा पनि  उनी  एक्लै छिन् । उनको एकलपनलाई राजनीतिक दलले फाइदाका रूपमा लिएको झुवी विकले गुनासो गरिन् । ‘यहाँ त सधैँ निर्वाचनमा नगद र चामल बाँडेर भोट तान्ने गर्छन्,’ उनले भनिन्, ‘मलाई त एकल भनेर नगद र चामल केही दिएनन् ।’ छिमेकीलाई भनेर भोट हाल्न लगाउने तर अरुलाई दिने सामग्री आफूलाई नदिने गरेको उनको गुनासो छ । सोही बस्तीका सावित्रा विकले पनि राजनीतिक दलले कुनै विकासको योजना ल्याउने नभई भोट तान्नेतर्फ केन्द्रित भएको आरोप लगाइन्। 

वाग्लाको यस बस्तीमा एक सय ५० दलित घरधुरीमा झण्डै ६ सय मतदाता छन् । आगामी मङ्सिर ४ गते हुने आम निर्वाचनका लागि मतदान गर्न एक साता मात्र बाँकी भए पनि कुनै दल वा दलका नेता तथा कार्यकर्ता घरदैलोमा नआएको स्थानीयहरू बताउँछन् । राजनीतिक दलहरू वाग्लाको दलित बस्तीमा कसले बढी प्रभाव पार्न सक्छ भन्ने होडबाजीमा हुन्छन् । स्थानीयवासीका अनुसार मतदानको दुई÷तीन दिनअघि मात्र यस बस्तीमा स्थानीय नेता कार्यकर्ता प्रवेशका लागि प्रतिस्पर्धा गर्दछन् ।  
    
पाँच सय मिटर सडक पनि बनेन

वाग्लाको सोही बस्तीका अगुवा स्थानीयवासी गणेश विकले आफ्नो बस्तीमा पाँच सय मिटर बाटो पनि नबन्दा निकै सास्ती खेप्नु परेको बताए। चुनावको मुखमा आश्वासन दिने अनि भोट भोजभतेरमै तान्ने त्यसपछि बेवास्ता गर्ने गरेको उनले बताए। 

विसं २०५६ मा ट्र्याक खोले पनि बस्तीबीचको पाँच सय मिटर सडक हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याले आफूहरूलाई सास्ती पुगेको उहाँको गुनासो छ । ‘घर नजिकै सडक छ, हिउँदमा धुलो र बर्खामा हिलो चुल्होमै पुग्छ,’ उनले भने, ‘पटकपटक समस्या राखे पनि कुनै राजनीतिक पार्टीकाले हाम्रो समस्या बुझेनन्।’ उनका अनुसार बस्तीबीचको सडकमा ढल व्यवस्थापन गरेर ग्राभेल मात्रै गरे पनि आधा समस्या समाधान हुन्छ । 

जिल्लाको सदरमुकाम तम्घासस्थित रेसुङ्गा बहुमुखी क्याम्पसका राजनीतिशास्त्र तथा समाजशास्त्रका प्राध्यापक गुणनिधि शर्माले दलित बस्तीमा रहेको गरिबी, अशिक्षा र अभावमाथि माथिल्लो वर्गले वर्षौंदेखि दमन गर्दै आएको बताए।  ‘दलित बस्तीमा सामान्य जीविकोपार्जनका लागि पनि निकै समस्या छ,’ शर्माले भने, ‘राजनीतिक दल वा दलका नेता तथा कार्यकर्ताले असचेत नागरिक माथि थिचोमिचो गरिरहेका छन् ।’ दलित परिवारमा रहेको अन्धविश्वास, परम्परावादी सोच र आर्थिक अवस्था कमजोरका कारण उनीहरूमाथि राजनीतिक दलले भोट तान्ने होडबाजी गरेको उनले बताए। 

भोट खरिद बिक्रीको अन्त्यका लागि सर्वप्रथम राजनीतिक दलमा सुधार आउनुपर्ने शर्माले बताए । दलित बस्तीमा सुधार आउन शिक्षा, स्वास्थ्य, रोजगारी र अन्य विकासमा आमूल परिर्वतन आउनुपर्ने भएकाले राजनीतिक दलले भोटका रुपमा मात्र नहेरी उनीहरुका समस्याप्रति पनि गम्भीर हुन जरुरी रहेको उनको भनाइ छ।  

प्रकाशित मिति: १४:३० बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्