Kathmandu Press

कपिलवस्तु २ : गठबन्धनबाट कांग्रेसका आचार्य र एमालेका गुप्ताबीच प्रतिस्पर्धा

एमाले वृजेशकुमार गुप्तासँग नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य भिड्दैछन्। २०७४ को निर्वाचनमा दुवै जना चुनावी प्रतिस्पर्धामा थिए। 
कपिलवस्तु २ : गठबन्धनबाट कांग्रेसका आचार्य र एमालेका गुप्ताबीच प्रतिस्पर्धा

बुद्धभूमि, कात्तिक २७ : तीन प्रतिनिधिसभा रहेको कपिलवस्तुमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ सबैको चासोको केन्द्रमा छ। २०५६ देखि लगातार चुनाव जित्दै आएका वृजेशकुमार गुप्ता लडेको यो निर्वाचन क्षेत्रलाई चासोपूर्वक हेरिएको हो। 

आसन्न मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा गुप्तालाई जिल्लामा सदावहार सांसदका रुपमा हेर्छन्। जिल्ला सदरमुकामसमेत पर्ने यो निर्वाचन क्षेत्रमा गुप्ता नेकपा एमालेबाट चुनावी मैदानमा छन्।

गुप्तासँग नेपाली कांग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्य भिड्दैछन्। विसं २०७४ को निर्वाचनमा दुवै जना चुनावी प्रतिस्पर्धामा थिए। 

गुप्ता २०५६ सालदेखि लगातार सङ्घीय सांसद रहँदै आएका छन्। उनीसँग २०५६ मा नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय पराजित भएको थिए। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट चुनाव जितेका गुप्तालाई एमालेले अघोषित रुपमा सघाएको थियो।

२०५६ मा एमालेबाट अघोषितरुपमा साथ पाएका गुप्ता विभिन्न दल बदल्दै अन्ततः यो निर्वाचनमा एमालेबाट आधिकारिक उम्मेदवार बनेका हुन्। पूर्वमन्त्रीसमेत रहेका गुप्ता विसं २०६४ र २०७० मा तत्कालीन तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट संविधानसभा सदस्यमा निर्वाचित भएको थिए। तत्कालीन संविधानसभा निर्वाचन क्षेत्र नं ३ रहेको यो क्षेत्र हाल सङ्घीय संरचनाअनुसार क्षेत्र नं २ पर्दछ।

विसं २०७४ मा वाम–गठबन्धनको साझा उम्मेदवार बन्नुभएका उहाँ हृदेश त्रिपाठी समूहबाट सूर्य चिह्न लिएर चुनावमा होमिँदा तत्कालीन कांग्रेस जिल्ला सभापति तथा सिँचाइ राज्यमन्त्री आचार्यलाई झण्डै चार हजार मतान्तरले पराजित गरे। गुप्ताले ३५ हजार १ सय २७ मतका साथ विजयी हुँदा आचार्यले ३१ हजार ५ सय ६६ मत ल्याएका थिए।

कांग्रेस उम्मेदवार आचार्य २०७० को संविधानसभामा निर्वाचित भए पनि त्यसउता र यता कुनै चुनाव जितेका छैनन्। विसं २०५६ मा कांग्रेसबाट टिकट नपाएपछि बागी उम्मेदवार बनेका आचार्यले २०७० सालमा संविधानसभा निर्वाचन क्षेत्र नं ४ बाट चुनाव जितेका हुन्। गुप्ता र आचार्यबीचको प्रतिस्पर्धा भने दोस्रो पटक हुन थालेको छ। 
 
गुप्ताले विसं २०६४ र २०७० मा कांग्रेस नेता सुधाकरण पाण्डेयलाई पराजित गर्दै चुनाव जितेका थिए। आचार्यले २०७० मा एमालेका नेत्रराज अधिकारीलाई पराजित गरेर विजयी भएका थिए। २०७४ मा मात्र उनीहरू दुवैबीच प्रतिस्पर्धा हुन पुगेको हो।

प्रतिनिधिसभा क्षेत्र नं २ मा बुद्धभूमि नगरपालिकाका १० वडा, कपिलवस्तु नगरपालिकाका सात वडा, यशोधरा गाउँपालिकाका आठ वडा र महाराजगञ्ज नगरपालिकाका सात वडा छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामअनुसार बुद्धभूमि नगरपालिकाको नगर प्रमुख, उपप्रमुख कांग्रेसले जित्दा वडा नं  १, २,ं ६, ८ र ९ गरी पाँच वडामा कांग्रेस विजयी भएको छ। एमालेले वडा नं ३, ४, ५ र ७ मा जीत हात पारेको छ। वडा नं १० मात्र जनता समाजवादी पार्टी (जसपा) ले जितेको छ।

यशोधरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष एमालेले जितेको छ। आठ वडामध्ये वडा नं १, २ र ८ एमाले उम्मेदवारले जितेका छन्। वडा नंं ३ र ७ कांग्रेसले जितेको छ। वडा नं ६ जनमत पार्टीले जित्दा वडा नं ४ जसपाले जितेको छ भने वडा नं ५ मा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

कपिलवस्तु नगरपालिकाको नगर प्रमुख र उपप्रमुख जसपाले जितेको छ। १२ वडामध्ये वडा नं ७, ८, ९, १० र ११ प्रतिनिधिसभा क्षेत्र नं १ मा पर्दछन्। प्रतिनिधिसभा क्षेत्र नं २ मा पर्ने वडामध्ये एमालेले वडा नं २, ४ र ६ मा जीत हात पारेको छ। कांग्रेसले वडा नं ३, ५ र १२ जितेको छ। जसपाले वडा नं १ मात्र जितेको छ।

महाराजगञ्ज नगरपालिकाको नगर प्रमुख र उपप्रमुख कांग्रेसले जितेको छ। एघार वडा रहेको यो नगरपालिकाका वडा नं १, २, ३, ४, ८, ९ र १० यो निर्वाचन क्षेत्रमा पर्दछन्। सोमध्ये वडा नं १, २, ३, ८ र १० कांग्रेसले जितेको छ। वडा नं ४ लोकतान्त्रिक समाजवादी पार्टी नेपाल ९लोसपा० ले जित्दा वडा नं ९ मा एमालेले जितेको छ। 

हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मतका आधारमा नेपाली कांग्रेस अगाडि देखिन्छ। कांग्रेसको ३० हजार नौ सय ९८, एमालेको २७ हजार दुई सस ९८, जसपाको छ हजार नौ सय आठ, लोसपाको छ हजार तीन सय ८६, माओवादीको चार हजार चार सय ५९, राप्रपाको दुई हजार ३५, नेकपा एसको छ सय ९१ मत रहेको छ।

कांग्रेस उम्मेदवार आचार्यलाई नेकपा माओवादी केन्द्र, नेकपा एसको दरिलो साथ छ भने गुप्तासँग एमाले मात्र रहेको छ। यो निर्वाचन क्षेत्रमा जसपाले उम्मेदवारी दिएको छैन भने लोसपाले पूर्वमन्त्री अकवाल शाह चुनावी मैदानमा छन्। उनको पार्टीको उपस्थिति कमजोर भए पनि व्यक्तिगत प्रभावका कारण राम्रै मत ल्याउने मतदाता बताउँछन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभा क्षेत्र नं २ मा एक लाख २१ हजार छ सय ७६ मतदाता रहेका छन्। त्यसमा पुरुष मतदाता ६६ हजार रहेका छन् भने महिला मतदाता ५५ हजार छ सय ७६ रहेका छन्।

यस क्षेत्रमा ८३ मतदानस्थल र एक सय सय ५५ मतदान केन्द्र तय गरिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अनिता क्षेत्रीले जानकारी दिए।

प्रदेशसभा ‘१’ तर्फ सत्तागठबन्धनबाट नेपाली कांग्रेसका विक्रमसिंह थापा चुनावी मैदानमा छन्। नेपाल प्रहरीका पूर्वएसएसपीसमेत रहेका थापा यो क्षेत्रको नयाँ अनुहार छन्। एमालेबाट नवराज लामिछाने उम्मेदवार छन्। २०७४ को चुनावमा समेत यो प्रदेशसभामा जितेको एमालेले लामिछानेलाई उम्मेदवार बनाएको हो। उनी पनि नयाँ अनुहार हो। प्रदेशसभाभित्र दुवै जना नयाँ अनुहार प्रतिस्पर्धामा उत्रिएपछि चुनाव रोचक बन्ने अनुमान छ।

प्रदेशसभा ‘२’ तर्फ सत्तागठबन्धनले नेपाली कांग्रेसका सुधाकर पाण्डेयलाई उम्मेदवार बनाएको छ। संविधानसभाका दुई चुनाव र प्रदेशसभाको एक चुनाव हारेका पाण्डेय कांग्रेसका पूर्वजिल्ला सभापतिसमेत हुनुहन्छ। पाण्डेयलाई एमालेका उम्मेदवार धर्मबहादुरलाल श्रीवास्तवले कडा टक्कर दिएको छ।

गत चुनावमा समेत प्रदेशसभा जित्नुभएका श्रीवास्तव लुम्बनी प्रदेशबाट मन्त्रीसमेत बनेको थिए। यो निर्वाचन क्षेत्रमा पाण्डेय र श्रीवास्तवबीच मात्र चुनावी प्रतिस्पर्धा हुने छन। जसपाका अब्दुल रसिद पनि बलिया प्रतिस्पर्धी देखिएका छन्। यहाँ त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ।

उम्मेदवारहरु विकासका एजेण्डा लिएर घरदैलोमा व्यस्त छन्। जिल्लाको मध्यभागमा पर्ने यो क्षेत्र पूर्वतया कृषिमा आधारित क्षेत्र हो। जिल्लाका अरु दुई निर्वाचन क्षेत्रभन्दा बसाइँसराइ गरी यहाँ आउनेको सङ्ख्या कमै छ। उद्योगधन्दा, कलकारखाना खासै नभएको यो क्षेत्रमा खेतीपाती नै यहाँका मतदाताको प्रमुख काम हो। सिँचाइ सुविधा नहुँदा बर्सेनि किसान मर्कामा पर्दै आएका छन्। उम्मेदवारहरुसँग सिँचाइको माग गरेको बुद्धभूमि वडा नं ९ की लक्ष्मी चौधरीले बताउनुभयो। 

हरेक निर्वाचनमा सिँचाइ माग्दै आए पनि खासै सुनुवाइ नभएको उहाँको भनाइ छ। यो निर्वाचनमा पनि सिँचाइ नै आफूहरुको माग रहेको उनी बताउँछन्। घरदैलोमा व्यस्त उम्मेदवार पनि सिँचाइ, लालपूर्जा, नदी कटान नियन्त्रण, पक्की सडकजस्ता चुनावी नारा लिएर घरदैलोमा गइरहेका छन्। 

प्रकाशित मिति: १३:४२ बजे, आइतबार, कात्तिक २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्