गठबन्धनको जित भए राष्ट्रिय एकता स्थापित हुन्छ : प्रधानमन्त्री देउवा
लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने बताएका हुन्।
चितवन, कात्तिक २६ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनको जित भए राष्ट्रिय एकता स्थापित हुने दाबी गरेका छन्।
लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा आयोजना गरेको कार्यक्रममा उनले गठबन्धनको एकता भएर अघि बढ्यो भने समावेशी, समानुपातिक मात्रै नभएर राष्ट्रिय एकता पनि स्थापित हुने बताएका हुन्।
उनले राष्ट्रमा स्थायी शान्ति र विकास गरेर देशलाई धनी बनाउन गठबन्धनले जित्नुपर्ने बताए। उनले ठूलो सङ्घर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र संघीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेचीमहाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको बताए। उनले आउँदा तीन निर्वाचनसम्म गठबन्धन अघि बढाउनुपर्ने भन्दै सबैलाई इमान्दारीसाथ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे।
ठुलो संघर्षबाट प्राप्त भएको गणतन्त्र स्थायी रुपमा स्थापित गर्न र संघीय शासन व्यवस्था, समावेशिता, हिमाल, पहाड मधेससहित मेचीमहाकालीसम्मको भूभागलाई एक बनाएर लैजाने आफ्नो प्रयास रहेको उनले बताए। ‘यसलाई अझ बढी एकताबद्ध बनाउने भन्ने हो,’ उनले भने, ‘यसैका लागि अहिले गठबन्धनको सरकार रहेको र भोलि पनि हुनुपर्छ।’
स्थानीय तहको निर्वाचनमा चितवनबाट विजयको सुरुआत भएको भन्दै प्रधानमन्त्री देउवाले प्रदेश र संघको निर्वाचनमा पनि विजयीको सुरुआत चितवनबाटै होस् भनेर आफू आएको बताए। विजयीको जस चितवनका जनताले लिउन् भन्ने आफूले चाहेको उनले भनाइ थियो।
प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृहजिल्ला र ऐतिहासिक महत्व बोकेको ठाउँ भएकाले चितवनको महत्व निकै ठूलो भएको बताए।
जिल्लाका तीनै क्षेत्रमा गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने भन्दै उनले गठबन्धनको उम्मेदवारका पक्षमा मतदान गर्न आग्रह गरे। उनले आउँदा तीन निर्वाचनसम्म गठबन्धन अघि बढाउनुपर्ने भन्दै सबैलाई इमानदारीसाथ गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे।











