गोरखा गए पनि गृह जिल्ला चितवनसँगकाे मेराे सम्बन्ध हिजोजस्तै प्रगाढ रहनेछ : प्रचण्ड
यसअघि चितवन ३ बाट चुनाव जितेका प्रचण्डले यसपटक गोरखा २ बाट उम्मेदवारी दिएका छन्। सो विषयलाई लिएर अनेकन् टीकाटिप्पणी भइरहेका बेला उनले त्यसबारे चुनावी सभामा स्पष्ट पारेका हुन्।
चितवन, कात्तिक २६ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनाव लड्न गोरखा गए पनि आफ्नो घर चितवनमै भएकाले गृह जिल्लामा थालिएका विकास योजना पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
सत्तारुढ गठबन्धनद्वारा आज (शनिबार) भरतपुरमा आयोजति संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका हुन्। यसअघि चितवन ३ बाट चुनाव जितेका प्रचण्डले यसपटक गोरखा २ बाट उम्मेदवारी दिएका छन्। सो विषयलाई लिएर अनेकन् टीकाटिप्पणी भइरहेका बेला उनले त्यसबारे चुनावी सभामा स्पष्ट पारेका हुन्।
‘‘म चितवनबाट निर्वाचन लड्न गोरखा गए पनि मेरो घर चितवन नै हो। यहाँको विकास निर्माणमा मेरो चासो, चिन्ता र सहयोग जारी रहन्छ,’ प्रचण्डले भने, ‘जे पूर्वाधार सुरु भएका छन्। त्यसलाई पूरा गर्न म हमेसा लागिरहन्छु।’ गोरखा जानुको अर्थ चितवन छाडेको भनेर बुझ्न नहुने उनको भनाइ थियो।
चितवनसँगको सम्बन्ध सदैव रहिरहने उनले प्रस्ट पारे। ‘चितवनसँगको सम्बन्ध हिजो पनि थियो र भोलि पनि रहनेछ,’ उनले भने, ‘सत्तारुढ गठबन्धनमा रहेका दलका कार्यकर्तालाई कसैको बहकाउ र भ्रममा नपर्न म आग्रह गर्छु।’
प्रचण्डले चितवन–३ का उम्मेदवार माओवादी केन्द्रका डा. भोजराज अधिकारी आँखामा हाले पनि नबिझाउने खालको भएकाले मतदान गरेर जिताउन उनले मतदातालाई अपलि गरे।
‘उहाँ सामाजिक सेवामा पहिचान बनाइसकेको व्यक्ति हुनुहुन्छ,’ उनले भने, ‘निकै नजिकबाट दुख कष्ट देखेर आएको मान्छे हुनुहुन्छ, यहाँ उहाँ उम्मेदवार हुँदा मलाई बडो आत्मसन्तुष्टि मिलेको छ,’ उनले भने।











