Kathmandu Press

स्वेताको सहयोगमा चार वर्षपछि चिटिक्क माझी बस्ती

सिन्धुपाल्चोक, पुस २ : रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ। आकार एउटै र रङ पनि उस्तै भएको घर। ....

स्वेताको सहयोगमा चार वर्षपछि चिटिक्क माझी बस्ती

सिन्धुपाल्चोक, पुस २ : रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ। आकार एउटै र रङ पनि उस्तै भएको घर। एक छेउदेखि अर्को छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन्।

सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर छन्। भूकम्पले तहसनहस बनाएको यो बस्तीको अहिले मुहार फेरिएको छ। टाढैबाट सुन्दर देखिने बस्तीको चमक नै बैग्लै बनेको छ।

दशैँको फूलपातीको दिन नयाँ घर सरेकी ५५ वर्षीया लक्ष्मी माझी र ज्ञानबहादुर मङ्गलबार साँझ खाना पकाउँदै थिए। नयाँ घर पाउँदा उनीहरु खुशी देखिएका थिए। उनीहरुलाई पुरानो घरको याद भने हराएको छैन।

लक्ष्मीले भनिन्, ‘घर त पुरानै ठीक नि यो त भुइँतलामात्रै छ, पुरानो घर त भुइँसहितको तीनतला थियो, सबै कुरा राख्न पाइन्थ्यो।’ अहिलेको घर पहिलेको भन्दा बलियो रहेकामा भने उनीहरु ढुक्क छन्। सरकारबाट आएको तीन लाखमा चार लाख ऋण थपेर घर बनाएको उनले बताइन।

छिमेकी सोमबहादुर माझी पनि दशैँलगत्तै टहरोबाट नयाँ घरमा सरेका थिए। ६ जनाको परिवार बस्ने उनले भने, ‘साँघुरो छैन, ओत लाग्न पाएकै छ, खुशी नै छौँ।’ उनले पनि माटोढुङ्गाको त्यो दुईतले घर भने कहिल्यै भुल्न नसक्ने बताए। परिवारका सबै सदस्य घर बाहिर गएकाले भूकम्पमा बाँचेको स्मरण गर्दै सोमबहादुरले घर बनाउन लिएको चार लाख ऋण ज्याला मजदुरीबाटै तिरिरहेको बताए।

जुना माझी नयाँ घरमै विवाह गरेर भिनिइन्। उनले टहरो देखिनन्। ‘तीन जनाको परिवारलाई नयाँ घरका तीन कोठा छ्यालब्याल छ, भूकम्प आए पनि डर छैन,’ उनले भनिन्। निर्माण भएको नमूना माझी बस्तीका अधिकांश परिवार नयाँ घर सरिसकेका छन्।

यहाँ रहेका ढुङ्गामाटोको दुईतले घर २०७२ को भूकम्पले क्षणभरमै भत्कायो। त्यसपछि जस्ताले बारेको कटेरोमा रात बिताउन बाध्य भएका माझी बस्तीको अहिले मुहार फेरिएको छ। बस्ती साँच्चै नै मन लोभ्याउने खालको छ।

दायाँबायाँ ‘रिटनिङ’ पर्खाल र सडक निर्माणको काम जारी छ। सबै पूर्वाधार सम्पन्न भएपछि झन् कति आकर्षक हुन्छ भन्ने कुरा अहिले नै अनुमान लगाउन सकिन्छ।
यहाँका माझीहरु माछा मार्ने, ज्याला मजदुरी गर्ने र इन्द्रावती नदीमा बालुवा चालेर दिन बिताउँछन्। आर्थिक अभावका कारण भूकम्पले ढालेको घर बनाउन सकेका थिएनन्। मुस्किलले पानी ओत्ने जस्ताले बारेको कटेरोमा उनीहरुले केही वर्ष बिताए।

अहिले नयाँ घर निर्माण भएपछि फुरुङ्ग छन्।  पुरानो दुईतले घर भने कसैले पनि बिर्सन सक्दैनन्। ढुङ्गामाटोले बनेको भए पनि बार्दलीसहितको घर हेर्दा आकर्षकसँगै पर्याप्त ठाउँ हुन्छ। ती घर भूकम्पले ढालेपछि उनीहरुले चार वर्षपछि ढिलै भए पनि नयाँ घर पाएका छन्।

नायिका श्वेता खड्काले आफ्ना दिवङ्गत पति श्रीकृष्ण श्रेष्ठको सम्झनामा श्वेताश्री फाउन्डेसन स्थापना गरेर २०७३ मा नै नमूना बस्ती बनाउने घोषणा गरेकी थिइन्। बस्ती निर्माणको काम भने २०७४ जेठ १५ बाट थालियो। अहिले माझी बस्तीको निर्माणमा सरकारले स्वामित्व लिएको छ। फाउन्डेसनले सहयोग गरिरहेको छ।

नायिका खड्काबाट प्राप्त ४० लाख र फाउन्डेसननको २३ लाख रकम भने उपभोक्ता समितिले फिर्ता गर्ने शर्तमा चालू पूँजीको रूपमा परिचालन गरेको फाउन्डेसननबाट बस्तीको प्राविधिक काम हेर्दै आएका निराजन सापकोटाले बताए। ‘श्वेताश्री फाउन्डेसननको अगुवाइ, पुनःनिर्माण प्राधिकरणको साझेदारी र झ्याडी टोल सुधार समितिको सहकार्यमा बस्ती बनेको हो,’ उनले भने।

सरकारबाट प्राप्त एक करोड ३० लाखबाट बस्तीमा सडकलगायतका पूर्वाधारको काम जारी छ। शुरुमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट बस्तीका हरेक घरलाई तीन लाख सहयोग प्राप्त थियो।

त्यसपछि प्रतिपरिवारले चार लाख ऋण लिएर घर बनाएका छन्। यहाँको ५३ मध्ये २९ घरले ऋण लिइसकेको र बाँकी प्रक्रियामा छ। हरेक घरले मासिक सात हजार किस्ता बुझाउनुपर्छ।

झ्याडी टोल सुधार समितिका अध्यक्ष दिनेश माझी पैसा अभावले फाउन्डेसनन र खड्काबाट ६३ लाखको चालू पूँजी ल्याएको बताए। सरकारको बजेट चलाइसकेपछि अन्य संस्थाको पैसा चलाउन नपाउने मापदण्ड आएकाले उक्त पैसा फिर्ता गर्नेगरी तत्कालका लागि प्रयोग गरिएको हो। ‘बस्तीको माया होस् र आफ्नोपन आओस् भनेर घरमा व्यक्तिलाई पनि लगानी गर्न लगाइएको हो,’ उनले भने।

यहाँको उपभोक्ता समितिले नै घर निर्माणको जिम्मा लिएको छ। काम पनि गाउँले आफैँले गरेका छन्। गाउँले मिलेरै काम गरेकाले बजेट बाहिर गएको छैन। काम गरेर कमाएको पैसाले मासिक किस्ता तिरिरहेका छन् माझीहरु।

बस्तीमा बाटोसहित बालबगैंँचा, सामुदायिक भवन, वाटर फाउन्टेन, स्वास्थ्य चौकीलगायत बनाइँदै छ। अझै पाँच÷सात महिना पूर्वाधार निर्माणमा समय लाग्ने अनुमान छ। आगामी चैत १ गतेसम्मको समयसीमामा निर्माण सक्न मुस्किल छ। अठ्ठाइस रोपनी क्षेत्रमा बनेको छ बस्ती। तीन आनामा एउटा घर बनेको छ। एक घरमा तीन कोठा र शौचालय छन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सव¬इञ्जिनीयर सुमन काफ्ले सरकारले तोकेको मापदण्डअनुसार नै बस्ती निर्माण भइरहेको बताए।

यहाँको सडकलगायत पूर्वाधार निर्माण कात्तिकबाट सुरु भएको र त्यसको म्याद चैत १ सम्म रहेको उनले बताए। बस्ती निर्माणको शुरुको लागत १२ करोडको हो। अन्य पूर्वाधार निर्माणमा चार करोड थियो। अहिले भने लागत बढेको जनाइएको छ। (रासस)

प्रकाशित मिति: १०:५८ बजे, बुधबार, पुस २, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्