Kathmandu Press

काभ्रे २ : कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच रोचक भिडन्त

दुवै प्रतिस्पर्धी आ–आफ्नै शैलीमा प्रचार–प्रसारमा होमिएका छन्। दुवै पक्षले मतदाता आकर्षित गर्नका लागि मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन्। 
काभ्रे २ : कांग्रेसका हुमागाईं र एमालेका बाँस्कोटाबीच रोचक भिडन्त

काभ्रेपलाञ्चोक, कात्तिक २६ : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन आउन आठ दिन बाँकी छ। चुनाव नकिजिँदै गर्दा काभ्रेपलाञ्चोक प्रतिनिधिसभा क्षेत्र नं २ मा चुनावी प्रचारप्रसार बढ्दै गएको छ। 

यस निर्वाचन क्षेत्रमा ५ जना स्वतन्त्रसहित १६ जना प्रतिस्पर्धामा रहे पनि मुख्य प्रतिस्पर्धा भने सत्तारुढ गठबन्धनका उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाईं र नेकपा एमालेका गोकुलप्रसाद बाँस्कोटाबीच हुने अनुमान गरिएको छ।

दुवै प्रतिस्पर्धी आ–आफ्नै शैलीमा प्रचारप्रसारमा होमिएका छन्। दुवै पक्षले मतदाता आकर्षित गर्न मतदाताका घरदैलोमै पुगेर भेटघाट गर्न थालेका छन्। 

बाँस्कोटा एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट मानिन्छन्। केपी शर्मा ओली नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत भएका बाँस्कोटाको उम्मेदवारीले चुनावी माहोल रोचक बनेको छ।

उनका प्रतिस्पर्धी काङ्ग्रेसका शिवप्रसाद हुमागाईं २०५६ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने संविधानसभा निर्वाचन २०६४ र २०७० मा पराजित भएका थिए। साथै, अघिल्लो निर्वाचनमा विश्राम लिएका थिए। 

हुमागाईं र बाँस्कोटालाई दुबै जिल्लामा ‘हेभिवेट’ उम्मेदवारका रूपमा लिइएको छ। हुमागाईं र बाँस्कोटाले जिल्लामा पार्टीको नेतृत्व गरेको र केन्द्र र जिल्लामा राम्रो जनसम्पर्क रहेकाले यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ।

२०३६ मा भएको विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका गठबन्धनका उम्मेदवार हुमागाईँ पार्टीका विभिन्न भातृ सङ्गठन हुँदै चारपटक पार्टीको जिल्ला नेतृत्व एवं एकपटक केन्द्रीय सदस्यको नेतृत्व गरेका थिए। 

विसं २०३८ मा विद्यार्थी अवस्थादेखि नै राजनीतिमा यात्रारम्भ गर्नुभएका बाँस्कोटा पार्टीका विभिन्न भातृ सङ्गठन तथा पार्टीको विभिन्न तह हुँदै पार्टीको जिल्ला नेतृत्व गर्दै हाल पार्टीको पोलिटब्यूरो सदस्य हुन्।

२०७० को संविधानसभा सदस्यमा काङ्ग्रेसका उम्मेदवार कञ्चनचन्द्र बादे श्रेष्ठसँग पराजित बाँस्कोटा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७४ मा काङ्ग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गरी मन्त्रीसमेत भएका थिए।

अघिल्लो निर्वाचनमा २२ हजार मतान्तरले विजयी हुनुभएका बाँस्कोटाको बिरासत तोड्न गठबन्धन दल चुनावी रणनीति बनाएर अघि बढेको छ। हुमागाईलाई बाँस्कोटाकै गृहनगर मण्डनदेउपरका गठबन्धन दलअन्तर्गत नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य कृष्णप्रसाद सापकोटा, पूर्वसांसद विदुरप्रसाद सापकोटासमेतको साथ  छ।

प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री सूर्यमान दोङ र एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वराज्यमन्त्री रेशम लामाबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान मतदाताबीच छ। 

२०४४ मा नेकपा मसालबाट राजनीतिक यात्रा सुरु गर्नुभएका दोङ तत्कालीन नेकपा माओवादीको दशवर्षे सशस्त्र युद्धमा सहभागी हुँदै पार्टीका विभिन्न तहको नेतृत्व गरेका थिए। 

यस्तै विसं २०६४ को संविधानसभा सदस्य निर्वाचनमा दोङले कांग्रेसका मधुप्रसाद आचार्य र एमालेका सङ्ग्रामजीत लामालाई पराजित गर्दै निर्वाचित भएका थिए। दोङ २०७० को संविधानसभा सदस्य निर्वाचनमा भने नेपाली कांग्रेसका तीर्थ लामासँग पराजित हुनुपर्‍यो। 

यसैगरी विसं २०४७ देखि विद्यार्थी सङ्गठनबाट राजनीति प्रारम्भ गरेका लामालाई एमालेले गठबन्धनका उम्मेदवार दोङसँग प्रतिस्पर्धामा उतारेको हो।

राप्रपा, राप्रपा नेपालको विभिन्न तहको नेतृत्व गर्दै २०७० को संविधानसभा सदस्य निर्वाचनमा राप्रपा नेपालबाट समानुपातिक सांसद बन्नुभएका लामा केही वर्षअघि मात्रै एमाले प्रवेश गरेका हुन्। उक्त प्रतिनिधिसभा क्षेत्रमा पाँच स्वतन्त्रसहित १७ उम्मेदवार प्रतिस्पर्धामा छन्। 

जिल्लामा दुई प्रतिनिधिसभा र चार प्रदेशसभा निर्वाचन क्षेत्र छ। प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा क्षेत्र (१) र (२) मा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका रत्न ढकाल र कांग्रेसका तीर्थ लामा छन्। उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका दिलीप लामा र चन्द्र लामा छन्। 

यसैगरी प्रतिनिधिसभा क्षेत्र नं २ अन्तर्गत प्रदेशसभा क्षेत्र ९१० र ९२० मा गठबन्धनका उम्मेदवार नेकपा ९एकीकृत समाजवादी०का लक्ष्मण लम्साल र कांग्रेसका कञ्चनचन्द्र बादे श्रेष्ठ छन्। उनीहरूसँग मुख्य प्रतिस्पर्धी एमालेका कुमार खकुरेल र कुमार थापा रहेका छन्।

काभ्रेपलाञ्चोकमा ६ पदका लागि ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यसमध्ये दुई महिला र एक दलित उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार हाल काभ्रेपलाञ्चोकमा ३१ दल क्रियाशील छन्। 

जिल्लाका एक लाख ५७ हजार नौ सय ४७ पुरुष, एक लाख ५२ हजार एक सय १४ महिला र अन्य दुई मतदाता गरी कुल तीन लाख १० हजार ६३ मतदाताले मतदान गर्नेछन्। १ सय ९० वटा मतदानस्थलका तीन सय ८९ मतदान केन्द्र तोकिएको छ।

प्रकाशित मिति: १३:५७ बजे, शनिबार, कात्तिक २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्