Kathmandu Press

प्रदेश १ मा भाेलि सार्वजनिक बिदा

प्रदेश १ मा भाेलि सार्वजनिक बिदा

माेरङ, कात्तिक २३ : प्रदेश १ सरकारले भोलि सार्वजनिक बिदा दिएको छ।

प्रदेश १ का वन, वातावरण तथा भू-संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनको शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश १ सरकारले जनाएको छ।

यस्तै सरकारले राष्ट्रिय झण्डा झुकाउने निर्णय समेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मन्त्री थापाको उपचारकै क्रममा आज बिहान साढे १० बजेतिर विराटनगरस्थित नोबेल मेडिकल कलेजमा निधन भएको थियो।

५६ वर्षका थापा नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नम्बर ३ को प्रदेश सभा क्षेत्र (क) बाट मंसिर ४ मा हुने चुनावका लागि उम्मेदवार थिए।

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ का स्थायी बासिन्दा थापा एक महिनादेखि बिरामी थिए।

उनलाई सुरूमा डेंगी संक्रमण भएको थियो। पछि उनलाई निमोनियासमेत भएको थियो।

उनलाई काठमाडौंको ह्याम्स अस्पतालमा केही दिन उपचार गराएर पुन: विराटनगर नै लगिएको थियो।

थापा २०७४ सालमा समानुपातिकतर्फ प्रदेश सभा सदस्य भएका थिए। थापाका श्रीमती, एक छोरी र एक छोरा छन्।

थापाले गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा केही वर्ष स्वकीय सचिवसमेत भएर काम गरेका थिए।

प्रकाशित मिति: २०:०३ बजे, बुधबार, कात्तिक २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्